तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस सासंदहरुद्धारा उपसभामुख इन्दिरा राना मगरको राजीनामा माग

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सत्ता साझेदार दल नेपाली काँग्रेसका सासंदहरुले उपसभामुख इन्दिरा राना मगरको राजीनामा माग गर्नुभएको छ ।  

बैठकको आकस्मिक समयमा काँग्रेस सांसदहरुले उपसभामुख रानाले १९ महिना अघि अमेरिका पठाउने सिफारिस पत्रमा हस्ताक्षर गर्न हुने नहुने विषयमा उपसभामुख जस्तो व्यक्तिले बुझ्नुपर्ने भन्दै पदबाट राजीनामा दिएर छानबिनमा सहयोग गर्न माग गर्नुभयो । 

बैठकमा प्रतिपक्षी दल रास्वपाका सांसदहरुले उप सभामुखले आफूलाई ज्ञान नभएर पत्र लेखेको स्पष्ट पारिसकेको अवस्थामा राजीनामा मागीरहनु आवश्यक नभएको बताउनुभयो ।

सांसदहरुले बेथितिका विषयमा संसदमा उठाउने र यसको अन्त्य गर्ने तहसम्म पुर्‍याउनुपर्ने भन्दै रेडक्रसमा ब्लडबैँक सञ्चालनमा रहेको बेथिति हटाउनु पर्ने बताउनुभयो । सांसदहरुले स्वास्थ्य बिमा मार्फत उपचार गर्ने बिरामीहरूले दुःख खेप्नुपरिरहेको र उपचार हुन नसक्दा रिफरका लागि झन्झट व्यहोर्नु परिरहेको भन्दै स्वास्थ्य बिमा कार्ड हुनेले जुनसुकै अस्पतालमा उपचार गर्न पाउने व्यवस्था गर्न माग गर्नुभयो ।

बैठकमा सांसदहरुले चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य बस्तुमा मूल्यवृद्धि र कालोबजारी बढ्ने गरेको र चेकिङका नाममा नागरिकले हैरानी दिने गरेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा सांसदहरुले संविधानसभा अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति दिवसका अवसरमा संविधान सभा र संसदमा स्वर्गीय नेम्वाङले खेल्नुभएको महत्वपूर्ण भूमिकाको स्मरण गर्दै सहकार्यका लागि सन्तुलित भूमिका निर्वाह गर्न उहाँबाट सिक्न सकिने बताउनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button