तपाईँ सुन्दै हुनुहुन्छः

४४ हजार बढीलाई आयुर्वेद उपचार सेवा

भोजपुर । कोशी प्रदेशको पहाडी जिल्ला भोजपुरमा आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै गएको छ । जिल्लामा रहेका आयुर्वेद स्वास्थ्य केन्द्र मार्फत आर्थिक बर्ष ०८०/०८१ मा ४४ हजार ७३ जना नागरिकले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरले जनाएको छ ।
अघिल्लो वर्षहरूको तुलनामा जिल्लामा आयुर्वेदिक उपचार पद्धतिप्रति नागरिकहरूको विश्वास बढ्दै गएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरका प्रमुख डा.सरबिन्द प्रसाद यादवले बताउनुभयो । भोजपुरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, षडानन्द नगरपालिकाको केन्द्र दिङला, रामप्रसाद राई गाउँपालिकाको ओख्रे र भोजपुर नगरपालिकाको टक्सारमा गरी तीन वटा औषधालय तथा अरुण गाउँपालिकाको चम्पे, पौवादुङमा गाउँपालिकाको च्याङ्ग्रे, हतुवागढी गाउँपालिकाको घोरेटार र टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णमा नागरिक आरोग्य सेवा केन्द्रहरू सञ्चालनमा रहेका छन् ।
गत आर्थिक बर्ष २०८०/८१ मा १६ हजार आठ सय १४ जनाले बहिरङ्ग सेवा लिएका छन् । १७ हजार छ सय ९७ जनाले पुर्वकर्म तथा पञ्चकर्म सेवा, एक हजार नौ सय ३० ले थेरापेटिक योगा, तीन ६६ जनाले प्याथोलोजी सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरका प्रमुख यादवले जानकारी दिनुभयो ।
यस्तै एक हजार दुई सय ९७ स्तनपायी आमा, पाँच हजार चार सय ९४ ज्येष्ठ नागरिकलाई सेवा र दुई पाँच सय ५८ जनालाई अन्य सेवा प्रदान गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका अनुसार आयुर्वेदिक सेवा लिनेहरूमा महिलाको सङ्ख्या बढी छ । गत बर्ष कुल २२ हजार पाँच सय १० जना महिलाले सेवा लिए भने २१ हजार पाँच जना पुरुषले सेवा लिएका छन् ।
यस्तै, जिल्ला तहमा धन्वन्तरी दिवस, विद्यालय स्तरीय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम, निःशुल्क आयुर्वेद सेवा, ज्येष्ठ नागरिक सेवा, क्षमता अभिवृद्धि कार्यक्रम, तनाव व्यवस्थापन जस्ता कार्यक्रमहरू समेत सञ्चालन हुँदै आई रहेको केन्द्रका सूचना अधिकारी मनोज कुमार पण्डितले जानकारी दिनुभयो ।
केन्द्रले गत आर्थिक वर्षको समन्वयात्मक समीक्षा कार्यक्रम समेत गरेको छ । सो कार्यक्रममा स्वास्थ्य सेवा निर्देशनालय धनकुटा आयुर्वेद शाखाका प्रमुख विजय कुमार झा, तीन वटै सेवा प्रदायक संस्थाका प्रमुखहरू, पत्रकार र अन्य सरोकारवाला निकायका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button