तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले गल्छी–रसुवागढी अन्तर्राष्ट्रिय राजमार्ग अवरुद्ध

नुवाकोट । सडक माथिबाट खसेको ठूलोढुङ्गा सहितको पहिरोको कारण गल्छी–रसुवागढी सडक खण्डमा यातायात सञ्चालन बन्द भएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–८ स्थित ठूलोखोला नजिकै सडकको माथिबाट खसेको ठूलोढुङ्गा सहितको पहिरोले ‘डेडिकेटेड डबल लेन’को सडक पूर्ण रुपमा बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जे.जंग कार्कीले जानकारी दिनुभयो । उहाँको अनुसार देवीघाटबाट महादेवफाँट हुँदै गल्छी आउजाउ गर्ने सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । सोही रुटको आसपासमा वैकल्पिक सडक समेत नभएको हुँदा यातायातका साधन आउजाउ गर्न समस्या भएको छ ।

धादिङको गल्छीबाट नुवाकोटको त्रिशूली तथा रसुवागढीहुदैँ केरुङ जानुपर्ने सवारीसाधनहरू गल्छीबाट काठमाडौँ नै पुगेर टोखा–छहरे सडक खण्ड प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । बुधबार राती करिब ९ बजेतिर खसेको पहिरोसगैँको ठूलोढुङ्गा हटाउन ब्रेकर लगाउनुपर्ने भएकाले सडक सञ्चालन गर्न समय लाग्ने देखिएको गल्छी–रसुवागढी सडक योजना कार्यालयका प्रमुख धुव्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँको अनुसार पहिरो हटाई सडक सुचारु गराउन रातको समयमा जोखिम भएकाले बिहीबार बिहानदेखि हेभी उपकरण सहितको जनशक्ति परिचालन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button