तपाईँ सुन्दै हुनुहुन्छः

“रोगको पहिचान तथा निदानमा प्रयोगशाला महत्वपूर्ण”

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा एच आई भि एड्सबाट प्रभावित भएका ४ हजार २ सय ८७ जनाले नियमित रुपमा औषधि सेवन गरेर उपचार गराई रहनुभएको एक कार्यक्रममा जानकारी दिइएको छ ।

प्रादेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले धनुषाको लालगढमा आयोजना गरेको तीन दिने प्रशिक्षणको समापन कार्यक्रममा एच आई भि एड्सबाट संक्रमित हुनेहरूको सङ्ख्या यो भन्दा अधिक हुने भएकाले सङ्क्रमितबाट थप संक्रमण फैलिन नदिन प्रयोगशालाको परीक्षणको महत्वपूर्ण भूमिका हुने जानकारी विज्ञहरूले दिनुभयो ।

मधेश प्रदेश सरकारले मधेशका १३६ पालिकामा नै प्रयोगशाला स्थापना गरेर विभिन्न सर्ने तथा नसर्ने रोगहरूको नियमित रुपमा परीक्षण गर्ने काम गरिरहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका प्रमुख एवं वरिष्ठ भाईरोलोजिष्ट डा श्रवण कुमार मिश्रले जानकारी दिनुभयो ।

उहाँले रोगको पहिचान तथा निदानमा प्रयोगशालाको महत्वपूर्ण भूमिका हुने बताउँदै प्रदेश भरिमा स्थापना भएको प्रयोगशालाहरूले दीर्घ रोगहरूको पहिचान तथा नियन्त्रणमा काम गरेर प्रदेशवासीलाई स्वस्थ राख्ने अभियानमा लागेको बताउनुभयो ।

मधेश प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक डा. मनिष कुमार पाण्डेले रोगको पहिचान तथा नियन्त्रणमा प्रयोगशालाको महत्वपूर्ण भएको बताउँदै मधेश प्रदेशवासीलाई स्वस्थ्य बनाउनमा प्रयोगशालाको योगदान महत्वपूर्ण भएका बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशिक्षक सन्तोष कुमार यादव, युनिसेफका चन्द्र नारायण साह र सहभागी प्रशिक्षार्थीहरुले बोल्नुभएको थियो ।

मधेश प्रदेशमा कोरोनाका समयमा स्थापना भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आफ्नो सेवालाई निरन्तरता दिँदै प्रदेश भरि नै विस्तार गरेर उत्कृष्ट सेवा दिँदै आएको छ । अहिले सर्ने तथा नसर्ने रोगहरूको सस्तो तथा सुलभ दरमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाले परीक्षण गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button