तपाईँ सुन्दै हुनुहुन्छः

राजनीतिक उथलपुथलले सहकारी समस्या ओझेलमा परेको छः अध्यक्ष केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक अस्थिरताका कारण सहकारीका समस्या ओझेलमा परेको धारणा व्यक्त गर्नुभएको छ ।

आज यहाँ आयोजित ‘सहकारी रकम अपचलन र त्यसमा राज्यले गरेको संरक्षणबाट उत्पन्न परिस्थिति’ विषयक कार्यक्रममा सत्ता गठबन्धनमा देखिएको निरन्तरको फेरबदलपछि उत्पन्न राजनीतिक उथलपुथलसँगै सहकारीको बचत अपचलन हुँदा लाखौँ जनता बिचल्लीमा परेको बताउनुभयो ।

त्यस अवसरमा पार्टीद्वारा प्रस्तुत कार्यपत्रमा सहकारीको जन्म पुँजीवादी शोषण र पिछडिएका मुलुकमा सामन्तवादी शोषण तथा साहुकारी प्रथाविरुद्ध भएको उल्लेख छ । सहकारीको मुख्य उद्देश्य मजदुर, किसान, समाजमा दबिएका, उपेक्षित र किनारामा पारिएका वर्गको आर्थिक रूपले पक्षपोषण गर्नु रहेको समेत उल्लेख गरेको छ ।

सहकारीको समस्या समाधानमा जनता र राजनीतिक दलले दबाब सिर्जना गर्न आवश्यक रहेको बताउँदै अध्यक्ष केसीले गरिब जनताले छाक काटेर जोगाएको पैसा केही सीमित टाठाबाठाले हिनामिना गरेका जिकिर गर्नुभयो ।

त्यस अवसरमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सहकारीको समस्या अत्यन्त गम्भीर समस्याका रुपमा देखा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “लाखौँ नागरिकको अर्बौँ रकम हजारौँ सहकारीमा जम्मा गरेका छन् । उनीहरूको बचत अपचलन, दुरुपयोग, हिनामिना र ठगी भएको छ । केही सहकारीले बचत फिर्ता गर्न सकेका छैनन् भने केहीमा बचतको सुरक्षामै प्रश्न उठेको छ ।”

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले सामन्तवाद विरुद्धको अभियानका रुपमा अघि बढेको सहकारी आन्दोलनका माध्यमद्वारा समाजवादतर्फ जान सकिन्छ भन्ने ध्येय रहे पनि नेपालमा भने उद्देश्य अनुरुप कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता डा भीमबहादुर रावलले देशको तीन खम्बे अर्थतन्त्रमा महत्वपूर्ण मानिएको सहकारी क्षेत्रमा देखिएका समस्या अन्त्य गर्न सरकार र ठूला राजनीतिक दल गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

संविधानविद् तथा नेपालका सहकारी समस्याबारे जानकार काशीराज दाहालले राज्य संयन्त्रमा बसेका व्यक्तिमा समस्या अन्त्य गर्ने इच्छाशक्ति र संवेदनशीलताको कमी मात्र नभई र अलमल्याउने प्रवृत्तिले सहकारी समस्या समयमा हुन नसकेको बताउनुभयो ।

पार्टीका उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले सहकारी सामूहिकतामा आधारित व्यवसाय भएकाले समाजवादी अर्थतन्त्रको विकास तथा वर्गीय अन्तर विरोधलाई समाधान गर्न महत्वपूर्ण योगदान दिनसक्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button