तपाईँ सुन्दै हुनुहुन्छः

अध्यक्ष बिजुक्छेद्वारा अरनिको सभा भवन शिलान्यास

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले भक्तपुर नगरपालिका‐६ देकोचा ख्वप कलेज अगाडि निर्माण सुरु भएको अरनिको सभा भवनको आज शिलान्यास गर्नुभएको छ ।  

सो अवसरमा उहाँले अत्याधुनिक सुविधा सम्पन्न अरनिको सभा भवनको निर्माण गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले देकोचामा २३ वर्ष अगाडि जग्गा अधिग्रहण गरेको भए पनि स्थानीय निकाय भङ्ग हुँदा देश कयौँ वर्ष पछाडि धकेलिएको बताउनुभयो । 

सरकारको भरमा देशलाई विकास गर्ने सोच राखे हामी कहिल्यै अगाडि बढ्न सक्दैनौँ भन्दै अध्यक्ष बिजुक्छेले व्यक्ति, समाज र देशले आत्मनिर्भरताको बाटो अँगाल्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “नयाँ पुस्तालाई राजनीतिमा अगाडि ल्याउन सके उनीहरूको साँस्कृतिक स्तर पनि माथि उठ्ने थियो, सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्नो शक्ति र अधिकार व्यक्तिगत हित वा फाइदाको लागि प्रयोग गर्दा देशमा भ्रष्टाचारजस्तो आपराधिक गतिविधि मौलाउँदै गइरहँदा देश र जनताको साह्रै चिन्ता लागेर आउँछ ।”

भक्तपुर नगरपालिकाले आयोजना गरेको शिलान्यास कार्यक्रममा अध्यक्ष बिजुक्छेले मानव सभ्यताको इतिहास र विकास क्रम अध्ययनको लागि भवन शिलान्यासको क्रममा राखिएका सामग्रीले महत्वपूर्ण तथ्यको रुपमा भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा नेमकिपाका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले अरनिको सभा भवन र ख्वप कलेज निर्माणको निम्ति जग्गा प्रदान गर्ने नगरबासी धन्यवादको पात्र भएको जनाउँदैै अरनिको सभा भवनलाई जनअध्ययन गृहको रुपमा विकास गर्ने विषयमा नगरपालिकाले जोड दिनुपर्ने औँल्याउनुभयो । 

ख्वप विश्वविद्यालय विधेयक छिट्टै संसद्बाट पारित गर्नुपर्ने माग गर्दै सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय सञ्चालनको लागि नगरपालिकालाई दिए सस्तोमा चिकित्सा शिक्षा अध्ययन गराउन सक्ने बताउनुभयो । 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०५८ सालमै तत्कालीन जनप्रतिनिधिले अरनिको सभा भवन बनाउने उद्देश्यले देकोचामा जग्गा अधिग्रहण गरेको जनाउँदै जगनाथ क्षेत्र सांस्कृतिक, पुरातात्त्विक र ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण र उत्खनन् गर्नुपर्ने भएकोले अरनिको सभा भवन नयाँ ठाउँमा बनाउनुपरेको स्पष्ट पार्नुभयो । 

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई, ज्योतिषाचार्य वीरेन्द्रप्रसाद कायस्थ, भक्तपुर –६ का वडाध्यक्ष हरिराम सुवाल, भक्तपुर‐९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वलगायतले छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्नुपर्ने बताउनुभयो ।   

अरनिको सभा भवनको वास्तुकला र संरचनाको ढाँचा भक्तपुर नगरपालिकाले निर्माण गर्ने र सभा भवनको मुख्य अडिटोरियम ९मुख्य हल० एक हजार १०० जनाको क्षमताको  रहेको, सभा भवन बहुउद्देश्यीय हल १२८ जना, श्रव्य दृश्य ९६ जना, चार वटा ‘रिहर्सल’ कक्ष रहनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button