तपाईँ सुन्दै हुनुहुन्छः

उदाउँदो सूर्यलाई अर्घ दिँदै चैते छठ सम्पन्न

जनकपुरधाम । मिथिलासहित तराई मधेशका जिल्लाहरूमा श्रद्धा–भक्तिपूर्वक चैते छठ आज बिहानको अर्घ दिँदै सम्पन्न भएको छ ।

चैत्र शुक्लपक्ष चतुर्थी तिथिका दिन महाखाय गरेर शुरु भएको चैते छठ अन्तर्गत हिजो अस्ताउन लागेको सूर्यलाई पहिलो अर्घ दिएका थिए भने आज उदाउन लागेको सूर्यलाई अर्घ दिएर पर्वको समापन गरिएको छ ।

सुख, शान्ति, समृद्धि, परिवार जनको कल्याण, सन्तानको आयु वृद्धि, नयाँ सन्तानको प्राप्ति, पतिको दीर्घायुको साथै चर्म रोग नलाग्ने लागेको भए पनि निको हुने धार्मिक मान्यतासहित छठ पर्व मनाउने चलन रहेको छ ।

गृष्म कालको छठ भएकाले शरद ऋतुको कार्तिक महिनामा मनाइने छठ भन्दा चैते छठ गर्नेको सङ्ख्या कमी भए पनि वर्षै पिच्छे व्रत गर्नेहरुको सङ्ख्या बढी रहेको देखिन्छ । जनकपुरधामको केही पोखरीमा मनाइने चैते छठ विगत केही वर्ष यता धेरै पोखरीहरूमा मनाउन थालिएको कारणले वर्षैपिच्छे व्रत गर्नेहरुको सङ्ख्या बढ्दै गएको छ ।

मूलतः जनकपुरधामको गंगासागर, धनुषसागर, अंगराजसर, दशरथ तलाउ, अग्नि कुण्ड, बाल्मिकीसर सहितका पोखरीहरूमा व्रतीहरूले आज बिहान दोस्रो पटक अर्घ दिएपछि यस वर्षको चैते छठ सम्पन्न भएको छ । यस महिनामा चर्को घाम तथा गर्मी भएका कारणले चैतै छठ गर्ने व्रतीका लागि उपवास निक्कै कठिन रहेको छ ।

पानी पनि नखाने कठोर व्रत हुने भएका गर्मीमा विना पानी उपवास गर्नमा निक्कै कठिनाइ हुने गरेको भएपनि दृढ इच्छा शक्ति तथा माता छठीका कारणले पुरा गर्नमा सफल भएको व्रतीहरूले बताउनुभएको छ । चैते छठ पर्वमा प्रसादको रुपमा छठी मैयाँलाई ठेकुवा, भूषसा, खाजा, पुडुकीइा, केला, अदुवा, बेसार, नरिवल, उखु, केराउ, स्याउ, सुन्तला सहितका सामाग्रीहरू चढाउने चलन रहेको छ ।

छठी मैयाँलाई प्रसाद अर्पण गर्नका लागि तयार गर्दै निक्कै चाखो भएर गर्नु पर्दछ । शुद्धता सहित चोखो तरिकाले तयार पारेको प्रसादहरूलाई पथीया, ढाकी, सर्वा, सुपली, डगरी, टपरीमा सजाएर छैटीमा राखी छठ घाटमा लाने चलन रहेको छ ।

चैते छठ अन्तर्गत आज सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई दोस्रो पटक अर्घ दिएपछि पर्वको समापन गरिएको छ । आजै व्रतीले ३६ घण्टाको कठोर व्रतपछि पराना अर्थात् नुन सहितको खाना खाएका छन् । यता चैते छठमा तयार पारिएको प्रसादहरू ईष्ट, मित्र तथा आफन्तजनहरूमा वितरण गर्ने काम भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button