टिकट बिक्री गरी ठगी गरेको भन्दै बर्जू महोत्सवमा तोडफोड
सुनसरी । आक्रोशित सर्वसाधारणले आयोजकले कार्यक्रमको टिकट बिक्री गरी ठगी गरेको भन्दै सुनसरीको बर्जू महोत्सवमा तोडफोड र आगजनी गरेका छन् ।
महोत्सव स्थलमा पुगेका चार वटा स्कारपियोमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
आयोजकको पूर्वनिर्धारित कार्यक्रम अनुसार मङ्गलवार (आज) माघ ४ गते भारतका भोजपुरी कलाकार खेसारी लाल यादव नआएपछि तोडफोड तथा आगजनी भएको हो ।
बर्जू गाउँपालिका ६ चिमडीस्थित बर्जू तालको परिसरमा पुस २३ गतेबाट सुरु भएको महोत्सवमा आज भारतका भोजपुरी कलाकार यादव आउने प्रचारप्रसार भएको थियो ।
बढ्दो कोरोनाको तेस्रो लहरका कारण सुनसरी प्रशासनले पुस २७ गतेबाट महोत्सवमा रोक लगाएको भए पनि सुनसरी प्रशासनको नियमलाई अटेर गर्दे सामाजिक विकास केन्द्रले महोत्सव जारी राखेको थियो ।
खेसारी लाल यादवलाई हेर्न बिहानैदेखि सर्वसाधारणको भिड लागे पनि गायक तथा कलाकार यादव आउन सकेनन् ।
पूर्वनिर्धारित कार्यक्रम अनुसार आज ४ बजेसम्म पनि कलाकार यादव नआएपछि तोडफोड तथा आगजनी गरिएको स्थानीयको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्