तपाईँ सुन्दै हुनुहुन्छः

‘पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई समृद्धितर्फ उन्मुख गर्न सकिन्छ’

लमजुङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई समृद्धितर्फ उन्मुख गर्न सकिने बताउनुभएको छ । उहाँले आर्थिक समृद्धिको महत्वपूर्ण आधार पर्यटन क्षेत्रको विकासका लागि सरकारी तहमा हरसम्भव प्रयास भएको बताउनुभयो ।

बेँसीसहर नगरपालिका–२ चिसापानी घरबासको उद्घाटन गर्दै सञ्चार मन्त्री गुरुङले घरबासका माध्यमबाट पनि पर्यटन प्रवर्द्धनमा योगदान हुने भएकाले पर्यटकलाई यहाँका मौलिक उत्पादन र सम्पदाबारे जानकारी दिनुपर्छ भन्नुभयो । रोजगारीका अवसर सिर्जनाका साथै त्यसबाट गरिबी घटाउन पनि योगदान पुग्ने उहाँले बताउनुभयो । उहाँले पर्यटकको आगमनबाट विदेशी मुद्रा आर्जन हुने र त्यसले स्थानीयको आर्थिक स्तर उकास्न मद्दत मिल्ने बताउनुभयो ।

सञ्चारमन्त्री मन्त्री गुरुङले भन्नुभयो, “स्थानीयले होमस्टे चलाउनुपर्छ । बिजुली, सडक, खानेपानी लगायत संरचना निर्माणमा सरकारले सक्दो सहयोग गर्नेछ ।”

फरक प्रसङ्गमा उहाँले पुरानो कृषि प्रणालीले उत्पादकत्व वृद्धि नहुने भएकाले कृषिको यान्त्रिकीकरण र व्यावसायिकीकरणमा जोड दिँदै किसान समृद्ध भए मात्र गाउँको समृद्धि सुनिश्चित हुने बताउनुभयो । खेतबारी बाँझो नराख्न पनि उहाँले सबैलाई अनुरोध गर्नुभयो । सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले ग्रामीण पर्यटन विकासका लागि घरबास उपयोगी भएका आफूले पाएको बताउनुभयो ।

घरबास सञ्चालन व्यवस्थापन समितिका अध्यक्ष मीनमाया गुरुङले ४९ घर रहेको चिसापानी गाउँमा १० घरमा घरबास सञ्चालन भएका जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button