तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीमा मदरसा शिक्षालाई सुधार गरेका छौँ : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायको आर्थिक, सामाजिक तथा राजनीतिक सशक्तीकरणको लागि समानता र अधिकार सुनिश्चित गरेर सरकारले काम गरिरहेको बताउनुभएको छ ।

रुपन्देहीको भैरहवामा मुस्लिम समुदायको अधिकारको बारेमा आयोजना गरिएको प्रदेश सम्मेलनको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री आचार्यले मुस्लिम समुदायको विकास तथा सशक्तीकरणका लागि समानता र अधिकार सुनिश्चित गरेर प्रदेश सरकार अघि बढेको बताउनुभयो । लुम्बिनी प्रदेश सरकारले मदरसा शिक्षालाई सुधारेको उहाँको भनाई छ ।

उहाँले मुस्लिम समुदायका बालबालिकाको शिक्षामा समान पहुँच बढाउन छात्रवृत्तिको व्यवस्था गरिएको, छोरीहरूलाई शिक्षामा पहुँच बढाउन छात्रावास स्थापना गरिएको बताउनुभयो । “प्रदेश स्थापना भएपछि मदरसा शिक्षालाई जोड दियौँ। मदरसाको भौतिक सुधार गर्‍यौँ। त्यहाँ शिक्षाको गुणस्तर सुधार्न पनि ध्यान दियौँ । मुस्लिम विद्यार्थीलाई छात्रवृत्ति र छात्रावासको समेत निर्माण गर्न प्रदेश सरकारले लगानी गरेको छ”, उहाँले भन्नुभयो ‘शिक्षा क्षेत्रमा अगाडी बढाउन प्रदेश सरकारले लागे/पुगे सम्मको सहयोग गरेको छ ।”

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले मुस्लिम समुदायलाई निजामती क्षेत्रमा आकर्षित गर्न ७ प्रतिशत आरक्षणको व्यवस्था गरेको बताउनुभयो ।

“प्रदेश सरकारले मुस्लिम समुदायको सशक्तीकरणको लागि ध्यान दिएको छ । निजामती सेवामा आकर्षित गर्न ७ प्रतिशत आरक्षण सुनिश्चित गरेका छौँ”, उहाँले भन्नुभयो, “नीति, नियम तथा कार्यक्रमबाट मुस्लिम समुदायको अधिकार सुनिश्चित गर्ने गरी सरकारले काम गरिरहेको छ ।”

उहाँले छोरीहरूको शिक्षामा मुस्लिम समुदायले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । “छोरीहरूलाई शिक्षामा अगाडी बढाउन समुदायबाट नै विशेष ध्यान दिनुपर्छ । सरकारले वातावरण निर्माण गरेको छ । छात्रावास बनाएको छ । छात्रवृत्ति दिएको छ । छोरीहरूलाई विद्यालयमा पढ्न पठाउनुस्” उहाँले भन्नुभयो, “समुदायका अगुवाहरू नै बढी संवेदनशील हुन जरुरी छ ।”

प्रदेशका ६ जिल्लामा पोषण कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुहुँदै मुख्यमन्त्री आचार्यले गर्भवती र सुत्केरी आमाहरूलाई यो कार्यक्रममा जोड्न आह्वान गर्नुभयो । “तराईका ६ जिल्लामा मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषण जस्ता समस्याहरू छन् । यी समस्या समाधान गर्न सरकारले थालेका कार्यक्रममा जोड्न समुदायले विशेष पहल लिन जरुरी छ”, उहाँले भन्नुभयो, “सरकारले लगानी गर्दै जाने तर, सेवा उपभोग गर्न समुदायका मानिसहरू नपुग्ने अवस्था भयो भने त्यसले नतिजा राम्रो दिँदैन । यस बारेमा हामी सबै संवेदनशील बन्न जरुरी छ ।”

उहाँले समुदायका विपन्न नागरिकहरूलाई आर्थिक रुपमा बलियो बनाउन व्यावसायिक तथा सिप अभिवृद्धिको कार्यक्रम अघि बढाउने, निरोगिताको लागि स्वास्थ्य उपचारमा पहुँच बढाउने, सामाजिक चेतना अभिवृद्धिका अभियानहरू व्यापक बनाउनुपर्ने बताउनुभयो ।

धार्मिक सद्भाव कायम राखौँ, सबै धर्मको सम्मान गरौँ भन्ने मुख्य सन्देशसहित ओल्मा काउन्सिल नेपाल रुपन्देही शाखाको आयोजनामा ‘तहफ्फुजे हुकुके मुस्लिम व तालीमी वेदारी’ सम्मेलन २०८१ सुरु भएको छ ।

ओल्मा काउन्सिल रुपन्देहीका अध्यक्ष मौलाना अब्दुलनबी भाटको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलन उद्घाटन अवसरमा पिछडिएको समुदायलाई राज्यको मूलधारमा ल्याउने गरी प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्न माग राखिएको थियो । मुस्लिम समुदायभित्र आर्थिक वा सामाजिक रूपमा पछाडि परेका व्यक्तिको विकास र सशक्तीकरणका लागि विशेष कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने, मुस्लिम समुदायको भाषा, लिपि, संस्कृति, इतिहास, परम्परा, साहित्य, कलाको संरक्षण र विकासको लागि कार्यक्रम बनाउन समेत प्रदेश सरकारसँग अनुरोध गरिएको छ ।

मुस्लिम समुदायको हक, हितको संरक्षण र सम्बद्र्धन तथा सशक्तीकरण गर्न, आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रमा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न, राज्यले उपलब्ध गराउने स्रोत तथा साधनहरूमा मुस्लिम समुदायको पहुँच वृद्धि गर्न, ऐतिहासिक, साँस्कृतिक एवं धार्मिक क्षेत्रको संरक्षण र सम्बद्र्धन लगायतका विषयहरू उठान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button