तपाईँ सुन्दै हुनुहुन्छः

खुर्कोटको पुलबाट सार्वजनिक यातायात सञ्चालन

सिन्धुली । अविरल वर्षाले क्षतिग्रस्त रामेछाप र सिन्धुलीको सिमानामा रहेको खुर्कोटको पुलमा मङ्गलवार दिउँसोबाट सार्वजनिक यातायात सञ्चालन भएको छ । 

उक्त पुलमा नेपाली सेनाले कार्तिक ४ गते आइतबार मोडुलर प्यानल ब्रिज, एमपिवि (बेलीब्रिज) राख्नेकाम सम्पन्न गरेको थियो । मोडुलर प्यानल ब्रिज, एमपिवि (बेलीब्रिज) राखेर आवश्यक प्राविधिक परीक्षणपछि सञ्चालन गरिएको खुर्कोटको पुलमा १५ टनसम्मको गाडी गुडाउन सकिने सडक डिभिजन कार्यालय खाल्टेका इन्जिनियर प्रदीप तामाङले बताउनुभयो ।

वर्षाले पुल क्षतिग्रस्त बनाएपछि सरकारले उक्त पुल निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । नेपाली सेनाको चौध बाहिनी अड्डा गौचर काठमाडौँको प्राविधिक टोलीले असोज २२ गते बुधवारबाट एमपिवि जडानको काम सुरु गरेको थियो । नेपाली सेनाको चौध बाहिनी अड्डाको टोलीले नवौँ दिनमा असोज ३० गते जडानको प्रारम्भिक काम सकेर दुई जिल्ला जोडेको प्राविधिक कामको नेतृत्व गर्नुभएका नेपाली सेनाको चौध बाहिनी अड्डाका मेजर चिरञ्जीवी चौलागाईले जानकारी दिनुभयो ।

तामाकोशी– मन्थली– खुर्कोट सडक अन्तर्गत एडिबीको सहयोगमा निर्माण भएको खुर्कोटको पुलको आधा भागमा वर्षा पछिको बाढीले क्षति गरेको हो ।

तीन सय ६० फिट लम्बाइको खुर्कोटको पुलमा बाढीले एक सय ८० फिट क्षति गरेको र सोही ठाउँमा एमपिवि जडान गरिएको पुल निर्माणको नेतृत्व गरिरहेको नेपाली सेनाको चौध बाहिनी अड्डाका कर्नेल नारायण तुम्बाहाम्फेले बताउनुभयो । पुलमा राखिएको बेलिब्रिजमा एकतर्फी मात्र यातायात सञ्चालन गरिने छ । 

उक्त पुल निर्माणको लागि दशैंको समेत प्रवाह नगरी खटिने नेपाली सेनाको टोलीलाई सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सम्मान गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button