तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा सवारी साधन कारबाहीबाट एक महिनामा २४ लाख बढी राजस्व सङ्कलन

बाँके । बाँके जिल्लामा गत असोजमा सवारी कारबाहीबाट २४ लाख बढी राजस्व सङ्कलन भएको छ । यो अवधिमा ट्राफिक नियमको उल्लङ्घन गर्ने २ हजार ६७७ सवारी साधनलाई कारबाही गरिएको छ । 

असोज महिनाको प्रगति विवरण सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले ट्राफिक नियम विपरीत चलाइएका दुई हजार ६७७ वटा सवारीसाधनलाई कारबाही गरेर एकै महिनामा २४ लाख चार हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले प्रहरीको सक्रियताकै कारण यति धेरै सवारीसाधनलाई कारबाही गरिएको र सोही कारणले दशैँ पर्वको बेला दुर्घटनामा पनि कमी आएको बताउनु भयो । 

प्रहरी उपरीक्षक कार्कीले चाडपर्वको सो अवधिमा भारतबाट अवैध आयात पनि बढ्ने अनुमान गरेर गरिएको कडाइका कारण प्रहरीले असोज महिनामा ३८ लाख ७८ हजार दुई सय रुपियाँ बराबरको अवैध भन्सार छलीको सामान, दुई वटा मोटरसाइकल र चार जना मानिस पक्राउ गरी भन्सारमा पठाइएको जिकिर गर्नु भयो ।

जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनको लागि ट्राफिक जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दे आइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक पुष्करराज पन्तले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button