तपाईँ सुन्दै हुनुहुन्छः

दिगो प्रविधिका क्षेत्रमा अनुभव आदान प्रदान गर्न अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौँ। उन्नत पदार्थसम्बन्धी अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आजदेखि सुरु भएको छ । नेपाल पोलिमर इन्स्टिच्युट, त्रिभुवन विश्वविद्यालय, कलेज अफ बायोमेडिकल इन्जिनियरिङ एण्ड एप्लाइड साइन्सेस, दिनदयाल विश्वविद्यालय गोरखपुर, भारत र आइपीडब्लु जर्मनीको आयोजनामा ‘काठमाडौँ सिम्पोजिया अन एडभान्स्ड मटेरियल्सको पाँचौँ शृङ्खला यही कात्तिक ८ गतेसम्म काठमाडौँको बूढानीलकण्ठमा आयोजना गरिएको हो ।

दक्षिण एसियाली मुलुकका पदार्थ विज्ञानको क्षेत्रमा अध्ययन, अनुसन्धान गरिरहेका वैज्ञानिक र विश्वभरका वैज्ञानिकबीचको सहकार्यलाई स्थापित र सम्बन्ध सुदृढ गर्ने सम्मेलनको मुख्य उद्देश्य छ । सम्मेलनमा नयाँ र स्मार्ट पदार्थ, हरित र दिगो प्रविधि, चक्रिय अर्थतन्त्र, नानो÷बायो–आधारित अति सुक्ष्म पदार्थ, टिस्यु इन्जिनियरिङ, कम्प्युटेशन प्राविधिकमा केन्द्रित छलफल हुनेछ ।

नेपाल पोलिमोर इन्स्टिच्युटका अध्यक्ष तथा यस सम्मेलन आयोजक समितिका संयोजक प्रा डा रामेश्वर अधिकारीले नानो÷बायो, हरित र दिगो प्रविधिलगायतका पछिल्ला अनुसन्धानका क्षेत्रमा नेपालमा भए÷गरेका अध्ययन, अनुसन्धानलाई विश्व समुदायसमक्ष प्रस्तुत गर्ने उद्देश्यले यो सम्मेलन आयोजना गरिएको बताउनुभयो ।

सम्मेलनमा नेपाल, फ्रान्स, जर्मनी, दक्षिण अफ्रिका, जपान, भारत, अमेरिका, चीनलगायतका १६ मुलुकबाट आएका प्राध्यापक, वैज्ञानिक, अनुसन्धानकर्ता, युवा वैज्ञानिक तथा विद्यार्थी सहभागी छन् । सम्मेलनमा युवा वैज्ञानिकलाई लक्षित गरी ‘स्मार्ट र फङ्सनल पदार्थको अनुप्रयोगमा हालको प्रगति’ नामक एकदिने ‘सर्ट कोर्ष’ र नेपाल–भारत विशेष सिम्पोजियमसमेत आयोजना गरिने छ ।

वैज्ञानिक सम्मेलनमा नेपाललगायत विश्वभरका दुई सय वैज्ञानिक सहभागी हुने र एक सय ३० वटा कार्यपत्र प्रस्तुत हुने र पोस्टर प्रस्तुति र मौखिक प्रस्तुतिका लागि युवा वैज्ञानिकलाई पुरस्कार प्रदान गरिने कार्यक्रम छ ।

युवा वैज्ञानिक डा शङ्कर खतिवडाले सम्मेलनले नेपालको पदार्थ विज्ञान र खासगरी नानो÷बायो प्रविधिका क्षेत्रमा भएका अध्ययन र अनुसन्धानात्मक गतिविधिको प्रवर्द्धनका लागि योगदान पुर्याउनुका साथै नेपालका वैज्ञानिकलाई विश्वभरका वैज्ञानिकसँगको सहकार्य निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गर्नुभयो । सम्मेलन अवधिमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा केशरजङ्ग बराल र दिनदयाल विश्वविद्यालय गोरखपुरकी उपकुलपति प्रा डा पुनम टण्डनले सम्बोधन गर्नुहुने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button