तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपाल सञ्चारग्रामबाट “पशुपालन र जनजीवन” कार्यक्रम प्रसारण गर्ने सम्झौता

विराटनगर । रेडियो नेपाल तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरबिच रेडियो कार्यक्रम “पशुपालन र जनजीवन” तथा सार्वजनिक हितको सूचना प्रसारण गर्ने सम्झौता भएको छ ।

निर्देशनालयका महत्वपूर्ण गतिविधि, योजना तथा कार्यक्रमहरू, उन्नत पशुपन्छी पालन प्रविधि, पशुपन्छीमा लाग्ने रोगव्याधीको उपचार तथा व्यवस्थापनका विषयमा विशेषज्ञहरू सँगको कुराकानी लगायतका विषय समेटेर “पशुपालन र जनजीवन” पाक्षिक रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने गरी सम्झौता भएको रेडियो नेपालका कार्यक्रम अधिकृत नयराज नेपालले बताउनुभयो ।

व्यावसायिक पशुपन्छी तथा मत्स्यपालनको विकास, विस्तार र विभिन्न रोग तथा महामारीबाट पशुधनमा हुने क्षति रोकथाम गर्न कृषकहरूमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले रेडियो कार्यक्रम प्रसारण गर्न लागिएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. पशुपति ढुङ्गानाले जानकारी दिनुभयो ।

सम्झौता अनुसार रेडियो नेपाल तारिणीप्रसाद कोइराला स्मृति सञ्चारग्राममा सञ्चालित महानगर एफ.एम १०३ मेगाहर्ज विराटनगरबाट आगामी कार्तिक १२ गतेदेखि प्रत्येक महिनाको दोस्रो र चौथो सोमबार दिउँसो १ः०५ बजेदेखि १५ मिनेटसम्म पाक्षिक रुपमा रेडियो कार्यक्रम “पशुपालन र जनजीवन” प्रसारण हुने छ ।

यस्तै पशुपन्छी पालनसम्बन्धी जनचेतनामूलक सन्देश नेपालीसहित राई बान्तवा, लिम्बु, पूर्वेली थारु र राजवंशी भाषामा उत्पादन गरी प्रादेशिक प्रसारण केन्द्र धनकुटाबाट पनि प्रसारण गरिने भएको छ ।

सम्झौतामा निर्देशनालयका तर्फबाट निर्देशक डा. पशुपति ढुङ्गाना, वरिष्ठ पशु विकास अधिकृत डा.गङ्गाराम यादव, अधिकृत तारामणि निरौला र सञ्चारग्रामका तर्फबाट कार्यालय प्रमुख बलराम चौधरी, कार्यक्रम अधिकृत नयराज नेपाल र वरिष्ठ कार्यक्रम सहायक बलराम दाहालले हस्ताक्षर गर्नुभयो ।

मानव सभ्यता, जनजीवन, संस्कृति, अर्थतन्त्र, खाद्य सुरक्षा र पोषण सुधारको अभिन्न अङ्गको रुपमा रहेको पशुपालनको विकास र पशुधनको रक्षामा रेडियो कार्यक्रम र सचेतनामूलक सन्देशले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको वरिष्ठ पशु विकास अधिकृत डा. गङ्गाराम यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button