तपाईँ सुन्दै हुनुहुन्छः

देशलाई निकास दिन कांग्रेस–एमालेबीच गठबन्धन : उपमहासचिव ज्ञवाली

सिमकोट (हुम्ला) । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले देशलाई निकास दिनका लागि नेपाली कांग्रेस र एमालेबीच गठबन्धन भएको बताउनुभयो ।

एमाले स्कुल विभागद्वारा हुम्लाको सिमकोटमा आजदेखि सुरु प्रशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो, “देशमा अस्थिरता र भ्रष्टाचार बढ्यो, अर्थतन्त्र शिथिल हुँदा मुलुकलाई निकासा दिन एमाले र कांग्रेसबीच सहकार्य भई सरकार बनेको हो ।” उहाँले वर्तमान सरकार आगामी चुनावसम्म टिक्ने समेत बताउनुभयो ।

उपमहासचिव ज्ञवालीले कांग्रेस र एमाले मुलुकका मुख्य प्रतिस्पर्धी पार्टी भए पनि अहिलेको सहकार्य आवश्यकताका आधारमा भएको बताउनुभयो । विसं २०४७ साल यता संविधान संशोधन, विभिन्न निर्वाचनदेखि माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने विषयमा पनि दुवै पार्टी मिलेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “वर्तमान सरकार गठनपछि मुलुकमा सकारात्मक सङ्केत देखिएका छन्, जनतामा विश्वास बढेको छ, सहकारीमा ठगिएका पीडितका लागि न्यायका पक्षमा कारबाही सुरु भएको छ भने विकास निर्माण सुरु हुनुका साथै अन्तर्राष्ट्रियस्तरका सम्बन्ध सुदृढ भएको छ ।”

उपमहासचिव ज्ञवालीले हुम्ला अपार सम्भावना बोकेको र सम्भावनाले भरिएको जिल्ला भएको बताउनुभयो । उहाँले २४ वर्षपछि आफू यहाँ आउँदा धेरै परिवर्तन भएको पाएको बताउनुभयो । उहाँले आफू यहाँ आएर नेपाली भूमि लिमी लाप्चाबाटै मानसरोवर कैलाशको समेत दर्शन गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो ।

सदरमुकाम सिमकोट राष्ट्रिय सडकसँग जोड्ने खार्पुदोभानको कर्णाली नदीमा पक्की पुल बन्न समय लाग्ने भएकाले बेलीब्रिज पुनः निर्माणलाई सरकारले ध्यान दिने उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button