तपाईँ सुन्दै हुनुहुन्छः

दूधमा आत्मनिर्भर बन्दै इस्मा 

गुल्मी । जिल्लाको इस्मा गाउँपालिकाले दूधमा आत्मा निर्भर बन्ने उद्देश्यसहित प्रोत्साहनका कार्यक्रम ल्याएपछि व्यवसायीक रुपमा पशु पालन गर्ने स्थानीय कृषकको आकर्षण बढ्दै गएको छ । 

गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले ५ वटा भन्दा बढी दूध दिने भैँसी, गाई पाल्ने कृषकलाई मासिक १० हजार उपलब्ध गराउने भएसँगै कृषकहरूमा व्यवसायप्रति आकर्षण बढेको हो । पालिकालाई दूधमा आत्मनिर्भर बनाउने र व्यावसायिक रुपमा पशुपालक कृषक बढाउने उद्देश्यले गाउँपालिकाले यस्तो नीति ल्याएको हो, यसले गर्दा पालिकाभित्र व्यवसायीक रुपमा पशुपालन गर्ने कृषक बढ्दै गएका छन् । इस्मा गाउँपालिकाको वडा नम्बर–१ मा १० वर्षसम्म विदेशमा बसेर रामबहादुर कुँवरले व्यवसायीक रुपमा भैँसी पालन गर्दै आउनु भएको छ । 

गाउँपालिकाले गत आर्थिक वर्षबाट सुरु गरेको कार्यक्रमबाट ६ वटा पशुपालक फर्महरूले मासिक १० हजारका दरले रकम उपलब्ध गराउँदै आएको छ । पालिकाले दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले पशुपालक कृषकहरूलाई प्रोत्साहन गर्ने नीति बनाएको इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताउनुभयो ।

गाउँपालिकाले वर्ष०७९/०८० मा  ६ वटा कृषि फर्मलाई मासिक १० हजार रुपैयाँका दरले गाई भैँसी हेरालु खर्च भनेर रकम उपलब्ध गराएको छ । आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकामा ४ वटा फर्मले पाँच वटाभन्दा बढी दुहुना गाई र भैँसी पाल्दै आएका छन् । 

कुनै समयमा होटलहरुमा दूध चिया समेत मुस्किलले पाइने इस्मामा अहिले पालिकाले ल्याएको कृषक प्रोत्साहनको कार्यक्रमले सार्थकता पाएको छ । इस्माबाट हाल दैनिक २ सय लिटर दूध अन्यत्र निर्यात समेत हुन थालेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button