तपाईँ सुन्दै हुनुहुन्छः

कुष्ठरोगको जोखिम उस्तै, १४६ जनाको कुष्ठरोग निदान

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका–३ मानपुरमा रहेको साइनिङ अस्पतालले आर्थिक वर्ष २०८०/०८१ मा १७ हजार बढीलाई ओपिडी सेवा दिएको छ ।

आइएनएफ नेपालद्वारा सञ्चालित उक्त अस्पतालबाट एक वर्षको अवधिमा १७ हजार २ सय ६५ जनाले ओपिडी सेवा लिएको अस्पताल प्रमुख मङ्गल थारुले जानकारी दिनुभयो । उहाँका अनुसार छाला सम्बन्धी १४ हजार २ सय ९७ जनाले सेवा लिएका थिए भने २ हजार ९ सय ६८ जना कुष्ठरोगीका बिरामीले सेवा लिएका थिए । यो अस्पतालमा छाला र कुष्ठरोगका बिरामीले सेवा लिने गरेका छन् ।

१ सय २२ जना कुष्ठरोग बिरामी भर्ना भएका थिए । कुष्ठरोगका बिरामीहरूको निःशुल्क उपचार हुने गरेको छ । कुष्ठरोगको जटिलताको अवस्था हेरेर अस्पतालमै भर्ना गरेर उपचार गर्ने गरिएको प्रमुख थारुले जानकारी दिनुभयो । ‘हामीले कुष्ठरोगी सबैको निःशुल्क उपचार गर्दै आएका छौँ, उहाँले भन्नुभयो–‘जटिल प्रकारका बिरामीहरूलाई एकदेखि डेढ महिनासम्म अस्पतालमै भर्ना गरेर निःशुल्क उपचार गरेर पठाउने गरेका छौँ ।’

साइनिङ अस्पतालले आर्थिक वर्ष २०८०/०८१ मा १ सय ४६ जना कुष्ठरोगीको रोग निदान गरेको छ । ती मध्ये बाँकेका ८४, बर्दियाका २४, भारतका २१, सुदूरपश्चिमका ५ जना र १२ जना अन्य जिल्लाका रहेका छन् । गएको आर्थिक वर्ष २०७९/०८० मा १ सय २६ जना रोगीको रोग निदान भएको थियो । यो अघिल्लो आर्थिक वर्ष भन्दा २० जनाले बढी हो । २४ शय्याको यो अस्पतालले ओपिडी, अन्तरङ्ग, ल्याब्रोटरी, फार्मेसी लगायतको सेवा दिँदै आएको छ । गएको आर्थिक वर्ष कुष्ठरोग निदानका लागि छालाको स्मेर जाँच सेवा ८ सय ३८ जनाले लिए भने १२ हजार १ सय ६९ जनाको ल्याब टेस्ट गरिएको छ ।

बाँके, बर्दिया, कैलाली, कञ्चनपुर तथा भारतबाट बिरामीहरू उपचारका लागि अस्पताल आउने गरेको प्रमुख थारुले बताउनुभयो । कुष्ठरोगको जोखिम अहिले पनि कायमै रहेको उहाँले बताउनुभयो । बाँके जिल्लाका खजुरा, डुडुवा, नरैनापुर र नेपालगञ्जमा केसहरू बढी देखिएको उहाँको भनाई छ । बिरामी समयमै उपचार गर्न नआउँदा उपचारको समय पनि लम्बिने र बिरामीले समेत दुःख पाउने गरेको उहाँले सुनाउनुभयो । दातृ निकायबाट आउने अनुदान घटबढ हुँदा अस्पताललाई चुनौती रहेको उहाँको भनाई छ ।

सरकारले समेत कुष्ठरोगी बिरामीलाई यातायात खर्च बापत दिँदै आएको एक हजार रुपैयाँ यो वर्ष कटौती गरेको छ । यो बिरामीका लागि समस्या हो । कम्तीमा उपचार गरेर घर फर्किदा यातायात खर्च नियमित हुनुपर्नेमा थारुको जोड छ । यस्तै स्वास्थ्य चौकीमा पाउनुपर्ने औषधि समेत नियमित नहुँदा बिरामीहरूले अनावश्यक दुःख पाउनुपरेको गुनासो सुनाउने गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button