तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय श्रोत साधनको उपयोग बढाउनुपर्नेमा उद्योग मन्त्री भण्डारीको जोड 

बैतडी । संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी अहिले गृह जिल्ला बैतडीमा हुनुहुन्छ । जिल्लामा आयोजित विभिन्न कार्यक्रमहरूमा सहभागी हुनुभएका मन्त्री भण्डारीले जिल्लावासीको निराशा हटाउने प्रतिबद्धता गर्नुभएको छ । उहाँले चुनावताका आफ्नो घोषणापत्रमा लेखिएका कुराहरू क्रमशः कार्यान्वयन गरिरहेको बताउनुभयो । रोजगारी सृजना गर्नका लागि स्थानीय श्रोत साधनको उपयोग बढाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।   

जिल्लाको मेलौली, पुर्चौडी, दोगडाकेदार र दशरथचन्द नगरपालिकामा आयोजित कार्यक्रमहरूमा सहभागी हुनुभएका मन्त्री भण्डारीले बैतडीमा रहेका सम्भावनाहरूलाई उजागर गरि त्यसको व्यवस्थापनमा लागिरहेको बताउनुभयो । जिल्ला स्थित विभिन्न खानी, खनिज, जडीबुटी प्रशोधन तथा व्यवस्थापनमा ध्यान केन्द्रित गरेको उहाँको भनाई छ । 

उहाँले फस्फोराइड खानी, फलाम खानी, सिलेट खानी आदिलाई व्यवस्थित गरि बैतडीको सिलेट राजधानी पुर्‍याउने प्रतिबद्धता व्यक्त गनुभयो । अहिले यी खानीहरू भएको ठाउँमा सडक पुर्‍याउन समेत केही अवरोध सृजना भएको देखिन्छ सबै सरोकारवाला मिलेर समाधान गर्नुपर्ने उहाँको भनाई छ । रोजगारीको सम्भावना भएका क्षेत्रमा विकास निर्माण गर्ने वातावरण बनाउन सरोकारवालाहरूलाई आग्रह गर्नुभयो । 

मन्त्री भण्डारीले आफ्नो आँखा अगाडीको रोजगारी चिन्न नसक्नु र त्यसको उपयोग गर्न नसक्नु स्वयमको कमजोरी हुने बताउनुभएको छ । 

उहाँले सरकारी बजेटमा स्थापित योजनाहरूको पूर्ण उपयोग नभएको बताउनुभयो । “हाम्रो सिरानीबाट चिहानसम्म पानी बगेको छ तर सिँचाइको अभावमा खेत बाँझो राखेका छौँ, ठाउँ ठाउँमा सडक पुगे पनि व्यवस्थित नभएकाले हाम्रा उत्पादनले बजार पाउन मुस्किल छ । सडक सुविधा भएका ठाउँमा समेत कृषि उपजहरू उत्पादन गरि बिक्री गर्ने परिपाटी छैन, जहाँ जे सम्भावना छ त्यसको उपयोग आफैले गर्नुपर्छ र सरकारी स्तरबाट आवश्यक योजनाको माग गर्नुपर्छ । सडक, सिँचाइ, विद्युत्, खानेपानी लगायतका पूर्वाधारहरू निर्माण गर्न सरकार लागिपरेको छ ।” वर्तमान सरकारले व्यक्तिवादी योजनाहरू नबनाउने उहाँको दाबी छ ।

मन्त्री भण्डारीले अल्लोको लोक्ता प्रशोधन स्थानीय स्तरमै गर्नुपर्ने र त्यसको पूर्वाधार खडा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यसका साथै जडीबुटी सङ्कलन, प्रशोधन, प्याकेजिङ, ब्राण्डीङ गर्ने र लघु उद्यम मार्फत रोजगारी सृजना गर्ने बताउनुभयो । सामान्य ब्याजदरको स्टार्ट कर्जा कार्यक्रम मार्फत रोजगारी सृजना भइरहेको उहाँको भनाई छ । 

स्थानीय स्तरमा उपलब्ध श्रोत साधनलाई उपयोग गरि रोजगारी सृजना गर्नमा आफूले ध्यान केन्द्रित गरेको मन्त्री भण्डारीको भनाई छ । चालु आर्थिक वर्षमा नपरेका तर अत्यावश्यक योजनाहरू आगामी वर्षमा पर्ने उहाँले बताउनुभयो । 

मन्त्री भण्डारीले हरेक पटक ओरालो लागेको अर्थतन्त्रलाई नेकपा(एमाले) नेतृत्वको सरकारले लयमा फर्काउने गरेकाले वर्तमान समयको आर्थिक सङ्कुचन हटाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

वर्तमान सरकारले सबै सरकारी क्षेत्रमा सुशासन कायम गर्ने बताउनुभयो । बैतडीबाट निर्वाचित प्रतिनिधिसभा सांसद समेत रहनुभएका मन्त्री भण्डारीले बैतडीलाई सिरमा राखेर काम गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button