तपाईँ सुन्दै हुनुहुन्छः

कोहलपुरमा हत्या प्रकरण: फरार अभियुक्त पक्राउ

बाँके ।बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं। ८ स्थित सरस्वती चोक नजिक एक व्यक्तिको टाउको काटेर फरार भएको अभियोगमा ३० वर्षीय अनिल परियारलाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ। साविक घर्तिगाउँ रोल्पा निवासी परियारलाई अघैया-कुसुम खण्डमा लुकेर बसेको अवस्थामा ईलाका प्रहरी कार्यालय, कोहलपुरको टोलीले आज बिहान पक्राउ गरेको हो।

घटना असोज  २६  गते विजयादशमीको दिन कोहलपुर वडा न-८, पिपिरीका ४० वर्षीय चन्द्र बहादुर कामिको टाउको नभएको शव राति १२ बजे फेला परेको थियो। घटनापछि प्रहरीले निरन्तर अनुसन्धान जारी राख्दै, मृतकको टाउको परियारको बहिनीको घरको शौचालयको सेफ्टी ट्याङ्कीमा फेला पारेको थियो। टाउको फेला परेको केही घण्टाभित्रै परियारलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा विजयादशमीको दिन दिनभर सँगै रहेका अनिल परियार घटनापछि फरार भएका थिए। फरार रहेको आधारमा शङ्का गर्दै अनुसन्धान अगाडि बढाइएको थियो।

प्रहरीले यो सफलताले अपराधी पानीमुनि गए पनि उम्किन नपाउने सन्देश दिएको बताएको छ। परियारलाई म्याद थप गरी थप अनुसन्धानका लागि कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button