तपाईँ सुन्दै हुनुहुन्छः

गाभर होमस्टेमा थारु काष्ठकला

बाँके । बाँकेको गाभर होमस्टेले थारु समुदायको परम्परागत ज्ञान, कला, सिप र प्रविधिको संयोजनमा काष्ठकलाका सामग्री उत्पादन र बिक्री गर्दै आएको छ। होमस्टेका सञ्चालक कृष्ण चौधरिले पाहुनाहरूलाई उपहारस्वरूप थारु काष्ठकला झल्किने सामग्री प्रदान गर्ने गर्नुभएको छ।

गाभर होमस्टेमा निर्माण गरिने काष्ठकलाका सामग्रीहरूमा बबुर, कुसुम, सिसम, साधन सिसम, सतिसाल, र बिजयसाल जस्ता काठहरूको प्रयोग गरिन्छ। यी काठहरूलाई बिभिन्न आकार प्रकारमा ढालेर विभिन्न उपयोगी सामग्री उत्पादन गरिन्छ।

खासगरी थारु परम्परासँग सम्बन्धित सामग्रीहरूलाई प्राथमिकतामा राखिन्छ, जसले पर्यटकहरूलाई थारु जीवनशैलीको नजिक पुर्‍याउँछ। थारु समुदायको सांस्कृतिक धरोहरलाई संरक्षण गर्नका लागि यो विशेष पहल गरिएको कृष्ण चौधरीले जानकारी दिनुभयो।

चौधरि परिवारले होमस्टेमा निर्माण गरिने काष्ठकलाका सामग्रीहरूको मात्र बिक्री गर्दैन, उनीहरूले यसलाई सङ्ग्रहालयका रूपमा पनि विस्तार गरेका छन्। यो सङ्ग्रहालयले थारु काष्ठकलाको सम्पदा प्रदर्शनी मात्र गर्दैन, पर्यटकहरूको आकर्षणलाई झन् बढाएको छ। ओखल, किस्टि, गिलास, बेल्नाचौका, डोकनि, ठेकी जस्ता सामग्रीहरूलाई परम्परागत ढाँचामा तयार गर्ने परिश्रम र कलाको उच्च सम्मानमा रहेको कुरा स्पष्ट हुन्छ।

पर्यटकहरू यस्ता हस्तकला सामग्रीहरूमा आकर्षित छन् र थारु काष्ठकला प्रविधिको नयाँ नमुना हेर्ने अवसरलाई पनि निकै सराहना गर्छन्। गाभर होमस्टेले भारत लगायतका विभिन्न देशबाट आउने पर्यटकहरूलाई पनि आकर्षित गरेको छ। होमस्टेका सञ्चालक कृष्ण चौधरिका अनुसार धेरै विदेशी पर्यटकहरूले यहाँका काष्ठकलाका सामग्रीहरू सम्झना स्वरूप लाने गरेका छन्। विशेष गरी भारतबाट आएका पर्यटकहरूले यस्ता सामग्रीहरू किन्नमा ठूलो रुचि देखाएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button