तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडा-काठमाडौँ कान्तिलोकपथ पुनः सञ्चालनमा

मकवानपुर  । हेटौँडाबाट ठिङ्गन हुँदै काठमाडौँ जाने कान्तिलोकपथ सडकखण्डमा रहेको बागमती खोलाको पुल पुनः सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बाढीले क्षतिग्रस्त बनाएको उक्त पुलको आवश्यक मर्मत सम्भार सम्पन्न भएपछि आज मङ्गलबार बिहान ८ बजेदेखि सवारी साधनहरूको आवागमन सुरु भएको हो।

यसअघि बाढीका कारण पुल कटान भई यातायात अवरुद्ध बनेको थियो।नेपाली सेना विगत चार दिनदेखि उक्त पुलको पहुँच मार्ग र क्षतिग्रस्त पुनर्निर्माण गर्न खटिएको थियो । सडक मर्मतका लागि सेनाको जनशक्ति र उपकरण एवं आवश्यक सामग्री भौतिक मन्त्रालयले उपलब्ध गराएको थियो ।  सम्बन्धित निकायको प्रयासमा छोटो समयमै पुलको मर्मत कार्य सम्पन्न गरी सडक सुचारु गरिएको छ।

पुल सञ्चालनमा आएसँगै हेटौँडा र काठमाडौँबिचको यात्रा सहज बनेको छ। यसले स्थानीय व्यापार व्यवसाय र आम नागरिकको दैनिक जीवनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

प्रहरी कार्यालयले सवारी चालकहरूलाई सुरक्षित र सतर्क यात्रा गर्न अपिल गरेको छ। साथै, सडक प्रयोगकर्ताहरूलाई यातायात नियमको पालना गर्न र सडकको अवस्थाप्रति सचेत रहन आग्रह गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button