तपाईँ सुन्दै हुनुहुन्छः

पृथ्वी राजमार्गमा यात्रा सहज बन्दै, धादिङमा सामग्रीसहित सुरक्षाकर्मी तैनाथ

काठमाडौँ । राजधानी काठमाडौँ भित्रने र बाहिरिने मुख्य राजमार्ग पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लामा पहिरो जाने स्थलहरूमा अत्यावश्यक सामग्रीसहित सुरक्षा निकाय तैनाथ गरिएका छन् । 

पृथ्वी राजमार्गको १५/१६ वटा जोखिम स्थलमा सामग्रीसहित सुरक्षाकर्मीले मर्मतसंभार र पहिरो पन्छाउने कार्य गरिरहेकाले सवारी आवागमन र यात्रा सहज बन्दै गइरहेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । 

असोज १० गतेदेखि परेको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण यातायात सञ्चालनमा कठिनाई देखिए पनि पृथ्वी राजमार्ग अन्तर्गत धादिङका विभिन्न स्थलहरूमा जोखिम घटाउँदै यातायात सुचारु गरिएको छ  । 

धादिङको झ्याप्ले खोलामा लेदोसहितको पहिरोले ३५ जना यात्रुको ज्यान गएपछि सो राजमार्गमा असुरक्षित महसुस गरिएको यात्रा अब भने बिस्तारै सहज बन्दै छ ।  

धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले राजमार्ग खण्डलाई सुचारु राख्न मर्मत सम्भार र पहिरो पन्छाउने कार्य जारी रहेकाले सवारी आवागमन सहज भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘सवारी साधनहरू सहज रुपमा सञ्चालन भइरहेको छ, पहिरो खसिरहेको ठाउँमा धैर्यता, सावधानीपूर्वक यात्रा गर्नुहोला, प्रहरीसँग समन्वय गरेर मात्र हिँड्नुहोला’ ।

छिटपुट रुपमा पहिरो झर्ने वा जोखिम भएका ठाउँमा तत्काल सम्बोधन गर्न धुनिवेसी झयाप्ले खोला, सुरुङमार्गको प्रवेश स्थल, खत्री पौवा पुल, गणेश मन्दिर इलाका, थाक्रे दुई कमेरे, गजुरी लगायतका बढी जोखिम भएका ठाउँमा सुरक्षाकर्मीहरू उपकरणसहित खटिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो । 

। उहाँका अनुसार उक्त सडकखण्डमा ठुला मालवाहक ट्रक सञ्चालनमा रोक लगाइएको छ भने रात्रिकालीन बसहरू सञ्चालन गर्न दिइएको छ । 

धादिङको गल्छी हुँदै नुवाकोटबाट काठमाडौँ आउन जान सकिने, धार्केबाट रामकोट सितापाइला हुँदै काठमाडौँ आउन जान सकिने, त्रिभुवन राजपथको बाटोमा साना सवारीलाई मात्र अनुमति दिने र पालुङ हुँदै हेटौडा निस्कने सहायक रुटहरू तोकिएका छन् । 

विपद्का समयमा राजमार्गका होटलहरुमा दैनिक अनुगमन भइरहेको भन्दै यात्रुहरूलाई पनि आफूलाई ठगिएको महसुस भए तत्काल सुरक्षा निकायलाई जानकारी गराउन जिल्ला प्रशासन कार्यालय धादिङले अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button