तपाईँ सुन्दै हुनुहुन्छः

विपन्न समुदायका लागि गाउँपालिकाद्वारा जमिन भाडामा

डोटी । डोटीको जोरायल गाउँपालिकाले गाउँपालिकाभित्र रहेका विपन्न तथा पिछडिएका वर्गहरूको जीवनस्तर उकास्नको लागि जमिन भाडामा लिएर सामुदायिक खेती प्रणाली कार्यक्रम मार्फत बादी समुदायलाई दिएको छ ।  

बादी समुदायका झण्डै २० घरधुरीलाई समेटी जोरायल बासमती र मौसमी तथा बेमौसमी तरकारी खेती गर्नका लागि ५ रोपनी जमिन भाडामा लिई सामूहिक खेती प्रणाली मार्फत विपन्न तथा पछाडि परेका बादी समुदायको उत्थान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका नायव सुब्बा चन्द्र बहादुरी सार्कीका अनुसार आर्थिक वर्ष २०७५/२०७६ मा जोरायल गाउँपालिकाले पालिकाका वडा नं ३ र ४ मा रहेका बादी समुदायका लागि कृषि कार्य मार्फत विभिन्न क्रियाकलापहरू सञ्चालन गर्नको लागि जमिन भाडामा लिएको बताउनुभयो ।  

गाउँपालिकाले उपलब्ध गराएको सूचनाअनुसार वडा नं ३ बस्ने कमल सिं कठायतको ५ रोपनी जमिन भाडामा लिई हाल बादी समुदायका कृषकहरू खेती गर्दै आएका छन् ।

उक्त जमिनमा बादी समुदाय हाल जोरायलको बासमती नामले परिचित धानखेती गर्दै आएका छन् । वर्तमान समयमा उक्त जमिनमा बादी समुदायद्वारा प्रति रोपनी ५ क्विन्टलका दरले जोरायल बासमती उत्पादन हुने गरेको छ । जसबाट बादी समुदायका १० परिवार लाभान्वित भएको उपलब्ध तथ्याङ्कको आकडामा उल्लेख छ । त्यस्तै उक्त जमिनमा बादी समुदायहरू बर्खामा धान र हिउँमा गहुँ र तरकारी खेती गरिदैआएका गाउँपालिका सुब्बा सार्की बताउनुहुन्छ । 

हाल गाउँपालिकाले प्रति रोपनी १५ हजारका दरले जम्मा ७५ हजार भाडा तिर्दै आएको छ ।

गाउँपालिकाले जमिन भाडामा लिएर आफूलाई उत्पादन गर्न दिँदा राहत महसुस भएको कटैनी देवी बादीले बताइन् । उनी भन्छिन्, उक्त जमिनमा जोरायलको बासमती धान लगाउँछौँ, राम्रो हुन्छ, केही महिना भएपनि दैनिकी गुजारा गर्न हुन्छ ।

बादी समुदायकाअनुसार उक्त जमिनमा विगत ३ वर्षदेखि निरन्तरता धानखेती गर्दै आइरहेको बताएका छन् ।

बादी समुदायका समस्यालाई ध्यानाकर्षण हुनेगरी जमिन भाडामा लिएर उनीहरूलाई खेती गर्न दिएको जोरायल गाउँपालिका उपाध्यक्ष जमुना बोहरा (रोकाया) ले बताउनुभयो । गाउँपालिका उपाध्यक्ष बोहराले भन्नुभयो, यो सामुदायिक खेती प्रणाली अन्तर्गतको कार्यक्रम हो, २०७४ सालमा जमिन भाडामा लिएर खेती गर्न सुरु गरिएको हो । साथै उहाँकाअनुसार यो कार्यक्रम लामो समयसम्म जाने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button