तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटकीय स्थल किराँतेश्वर ढुङ्गे बगैँचाको संरक्षण थालियो 

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका-९ मा रहेको ऐतिहासिक धार्मिक पर्यटकीय स्थल किराँतेश्वर ढुङ्गे बगैँचाको संरक्षण थालिएको छ । यो ऐतिहासिक क्षेत्रको विकाससँगै जिल्लाको एक पर्यटकीय गन्तव्यको रुपमा स्थापित गराउन यहाँ आवश्यक संरचनासँगै पदमार्ग निर्माण थालिएको हो । 

यहाँका तीन वटा ऐतिहासिक क्षेत्र किराँतेश्वर ढुङ्गे बगैँचा, पाँचधारे पोखरी, सिंहदेवी देवस्थलको विकास गर्दै एकिकृत पर्यटकीय क्षेत्र निर्माणको अवधारणा अनुसार काम भइरहेको छ । यहाँ विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर दीर्घकालीन महत्वका साथ विकास तथा विस्तारको काम थालिएको हो । 

 केन्द्र सरकारको पर्यटन मन्त्रालयको रु.७७ लाख लागतमा यहाँ ऐतिहासिक संरचनाहरूको विकास गरिएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले बताउनुभयो । पर्यटकलाई लक्षित गरेर किराँतेश्वरमा पदमार्ग, किराती चुलाघर, विश्राम स्थल, चौतारा, साखेवा पोखरीलगायतका संरचना निर्माण गरिएको उहाँको भनाइ छ ।  

वि.स. १९४४ सालमा स्थापना गरिएको पाँचधारे पोखरीको संरक्षण गरिएको छ । सिंहदेवी देवस्थलमा सांस्कृतिक भवन निर्माण गरिएको वडाध्यक्ष माङ्गपाहाङ्गले जानकारी दिनुभयो । शौचालयसँगै अन्य केही संरचना निर्माणको चरण रहेको उहाँको भनाइ छ । 

“यहाँको धार्मिक तथा पर्यटकीय क्षेत्रको एकिकृत विकासमा जुटेका छौँ”वडाध्यक्ष माङ्गपाहाङ्गले भन्नुभयो,“यी क्षेत्रको संरक्षण तथा विकास गरेर एक पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्ने लक्ष्य लिएका छौँ । केन्द्र सरकारको बजेटमा पर्यटकलाई लक्षित गरेर विकास तथा संरक्षणको  गरिएको छ । यसको थप विकासको लागि वडाको तर्फबाट पनि पहल कदमी गरिरहेका छौँ ।” 

पाँचधारे पोखरीको ऐतिहासिक स्वरूपलाई यथावत् राख्दै जीर्णोद्धार तथा संरक्षणको काम गरिएको उहाँको भनाइ छ । पाँचधारे क्षेत्रलाई एकिकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न योजनाबद्ध रुपमा काम थालिएको वडाध्यक्ष माङ्गपाहाङ्गले बताउनुभयो । पर्यटकको सहजताको लागि हाल निर्माण भइरहेको पदमार्गलाई मुन्दुम पदमार्गसम्म पुर्‍याउने लक्ष्य रहेको उहाँको भनाइ छ ।

किराँतेश्वर ढुङ्गे बगैँचा र ऐतिहासिक पाँचधारे पोखरीको ठूलो धार्मिक महत्व रहेको स्थानीयबासी अधिराज राईले बताउनुभयो । किराँतेश्वर ढुङ्गे बगैँचा किरातहरूको आस्था केन्द्रको रुपमा रहेको उहाँले जानकारी दिनुभयो । यसको विकास तथा संरक्षणले यहाँको आन्तरिक तथा बाह्य पर्यटकको विकासमा टेवा पुग्ने उहाँले बताउनुभयो । पाँच ओटा मुहान रहेको पाँचधारे पोखरीमा दर्शन गरे मनोकामना पुरा हुने उहाँले जानकारी दिनुभयो । यहाँको पोखरीमा रहेका माछा कसैले मारेर खाए त्यसले बाधा तथा पुग्ने बिरामी हुने उहाँको भनाइ छ ।

“किराँतेश्वर ढुङ्गे बगैँचा र पाँचधारे पोखरी ऐतिहासिक धार्मिक महत्व बोकेका स्थल हुन्” उहाँले भन्नुभयो,“यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके यहाँको आर्थिक उपार्जनसँग जोड्न सक्ने देखिन्छ ।”

यो क्षेत्रको अनुगमन गर्दै कोशी प्रदेश राज्यमन्त्री सिर्जना राईले यो स्थानलाई रोजाइको  पर्यटकीय गन्तव्यको रुपमा स्थापित गराउन आफ्नो तहबाट भूमिका खेल्ने बताउनुभयो । पर्यटकलाई लक्षित गरेर आवश्यक विकास तथा विस्तारको लागि प्रदेश सरकारको तर्फबाट पनि पहल कदमी गर्ने उहाँको भनाइ छ ।“यो क्षेत्रमा पर्यटनको निकै राम्रो सम्भावना छ” राज्यमन्त्री राईले भन्नुभयो,“ केन्द्र सरकारको बजेटमा केही संरचनाहरू निर्माण भएका छन् । यसको थप विकासको लागि प्रदेश सरकारको तर्फबाट पनि आवश्यक भूमिका खेल्छु ।”

टेम्केमैयुङ गाउँपालिकामा धेरै पर्यटकीय स्थल रहेकोले त्यस्ता क्षेत्रको विकास तथा विस्तारको काम भइरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । मुन्दुम पदमार्गसँगै यहाँको पर्यटकीय क्षेत्रको योजनाबद्ध विकास गरेर गाउँपालिकालाई आयआर्जनसँग जोड्ने लक्ष्य रहेको उहाँको भनाइ छ । 

“टेम्केमैयुङ गाउँपालिकामा धेरै प्राकृतिक, धार्मिक तथा सांस्कृतिक क्षेत्र छन्”उपाध्यक्ष राईले भन्नुभयो,“पर्यटन र यहाँको कृषि उत्पादनलाई जोड्न योजनाबद्ध  विकासमा जोड दिएका छौँ । प्रदेश र केन्द्र सरकारसँग योजना माग गरेर कृषि, पर्यटन तथा पूर्वाधार विकास जुटेका छौँ  । यस्ता ठाउँको संरक्षणसँगै प्रचार प्रसारमा पनि ध्यान दिँदै आएका छौँ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button