तपाईँ सुन्दै हुनुहुन्छः

झापाका पाँच पालिकामा ‘प्रहरी पुस्तक’ पढाइने

भद्रपुर, झापा । बालबालिकामा बढ्दो आपराधिक क्रियाकलाप न्यूनीकरण गर्ने उद्देश्य राखेर नेपाल प्रहरीले ‘स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम पुस्तक’ लागू गरेको छ ।

सोहीअनुरूप जिल्ला प्रहरी कार्यालय झापाले जिल्लाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकासहित पाँच वटा स्थानीय तहमा प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम पुस्तक अध्ययन–अध्यापन गराउन त्रिपक्षीय सम्झौता गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले हिजो भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकासँग त्रिपक्षीय सम्झौता गरेको हो भने यसअघि मेचीनगर नगरपालिका, कनकाई नगरपालिका र हल्दिबारी गाउँपालिकासँग त्रिपक्षीय सम्झौता गरी विद्यालयहरूमा पठनपाठनसमेत भइसकेको जनाइएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्थानीय तहसँगको संस्थागत साझेदारीलाई निरन्तरता दिई विद्यालय सम्पर्क कार्यक्रमलाई व्यवस्थित गराउनुका साथै बालबालिकाहरूमा अपराध, अपराधको रोकथाम, सामाजिक विकृति विसङ्गति, लागुऔषध, प्रविधिको प्रयोगबाट बढ्दै गइरहेको विभिन्न अपराध र कानूनी प्रावधानसम्बन्धी जानकारी गराई अपराधविरुद्ध सचेतना अभिबृद्धि गरी शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्नुे उद्देश्यले पुस्तक तयार गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो । ६४ पृष्ठको पुस्तकमा २४ वटा विषयवस्तु राखिएको छ ।

झापाका १५ स्थानीय तहमा कार्यक्रम पुर्याउने गरी काम भइरहेको प्रहरी उपरीक्षक केसीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button