तपाईँ सुन्दै हुनुहुन्छः

मुआब्जा पाएपनि संरचना भत्काउन डडेल्धुरा सदरमुकामका घरधनीको अटेरी

डडेल्धुरा । महाकाली राजमार्ग अन्तर्गत डडेल्धुरा बजार क्षेत्रमा सडक बिस्तारका लागि मुआब्जा वितरण गरेको लामो समय सम्म पनि घरधनीले संरचना नभत्काएपछि अन्तिम पटकका लागि ३५ दिनको समयावधि दिइने निर्णय भएको छ । आइतबार प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको अध्यक्षतामा बसेको बैठकले संरचना भत्काउन अन्तिम पटक ३५ दिने सूचना प्रकाशित गर्ने निर्णय गरेको हो ।  

 सदरमुकामको बागबजारदेखि उग्रतारा मन्दिरको मुल गेटसम्मका घर तथा जग्गाको सम्पूर्ण मुआब्जा वितरण भइसकेको छ । सडक डिभिजन कार्यालय डोटीका अनुसार मुआब्जा वितरण गरेर महाकाली राजमार्गको नाममा लालपूर्जा पनि आइसकेको छ ।

 तर, मुआब्जाको सम्पूर्ण रकम पाएका घरधनीले पनि संरचना भत्काउन अटेरी गरेपछि अन्तिम पटकका लागि समय दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो । यस्तै सोही बैठकले राजमार्ग छेउछाउ निर्माण भएका घर टहराको तत्काल विवरण सङ्कलन गरी त्यस्ता घर टहरा हटाउन अमरगढी नगरपालिका, सडक डिभिजन र डिभिजन वन कार्यालयले आपसी समन्वय गरी अतिक्रमण खाली गर्न ३५ दिनको सूचना जारी गर्ने निर्णय पनि गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button