तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जस्थित ‘स्वास्थ्यजन्य फोहोरमैला प्रशोधन केन्द्र’ प्रभावकारी बन्दै

नेपालगञ्ज । नेपालगञ्जस्थित स्वास्थ्यजन्य फोहोरमैला प्रशोधन केन्द्र प्रभावकारी बन्दै गएको छ । २(३ वर्ष अगाडिसम्म यत्रतत्र सर्वत्र जथाभाबी फ्याँकिने गरिएको फोहोर अहिले व्यवस्थित रुपमा प्रशोधन केन्द्रसम्म पुग्छ । धेरै स्वास्थ्य संस्थाहरू यो अभियानमा जोडिएपछि संक्रमित फोहोरको जोखिम कम हुँदै गएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले अत्याधुनिक मेसिन जोडेर फोहोर प्रशोधन गरिरहेको छ ।

नेपालगञ्जमा उत्पादन हुने स्वास्थ्यजन्य फोहोर दैनिक रुपमा सङ्कलन हुन्छ । सङ्कलन गरिएको फोहोर एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्रमा लगिन्छ । २ वटा फोहोर बोक्ने गाडीमा १२ जना मानिसले दैनिकरुपमा फोहोरमैला सङ्कलन गर्दछन् । एक दिन संक्रमित फोहोर उठाइन्छ भने अर्को दिन असंक्रमित फोहोर ।

नेपालगञ्ज उपमहानगरपालिकाले वडा नम्बर २३ हिरमिनियास्थित ल्याण्डफिल साइट परिसरमै अत्याधुनिक प्रविधियुक्त एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र बनाएको छ । स्थानीय सरकारले सञ्चालन गरेको यो देशकै पहिलो र एक मात्र नमुना स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र हो । नेपालगञ्ज उपमहानगरपालिकाले ४६ लाखको लागतमा संरचना निर्माणको काम गरेको हो भने जिआइजेडले मेसिन सहयोग गरेको छ । जिआइजेडले त्यहाँ दुई वटा अटो क्लेब मेसिन र एउटा बेलर मेसिन सहयोग गरेको हो । अटो क्लेबले हानिकारक फोहोरमैला पकाउने काम गर्दछ भने बेलर मेसिनको काम फोहोरलाई छानेर निस्किने काम लाग्ने बस्तुलाई बण्डल बनाउने हो । फोहोर पूर्ण रुपमा पाके नपाकेको थाहा पाउन ल्याब परीक्षण गरिन्छ । अन्तिममा काम नलाग्ने फोहरलाई ‘डम्पिङ’ गरिन्छ भने काम लाग्ने वस्तुहरू बजारमा विक्री हुने गर्दछ ।

नेपालगञ्ज उपमहानगरपालिकाले एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनको जिम्मा १० वर्षका लागि स्वच्छ नेपाल हाम्रो अभियान नामक संस्थालाई दिएको छ । स्वास्थ्य संस्थाबाट निस्कने फोहोरमैला व्यवस्थापन गर्ने उद्देश्यका साथ एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको वातावरण इन्जिनियर प्रकाश डिसीले बताउनुभयो । मेडिकल सिटीका रुपमा विकास भइरहेको नेपालगञ्जमा यो अपरिहार्य नै थियो । अन्य फोहोरको तुलनामा स्वास्थ्यजन्य फोहोर सबैभन्दा बढी दूषित र सङ्क्रामक हुने भएकाले प्राथमिकताका साथ व्यवस्थापन केन्द्र स्थापना गरेर काम गरिरहेको नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो । २०७९ असोज २० गते उद्घाटन गरिएको यो केन्द्र सञ्चालनका लागि २०७९ पौषदेखि स्वच्छ नेपाल हाम्रो अभियानलाई जिम्मा दिइएको हो ।

नेपालगञ्जबाट अहिले संक्रमित फोहोर दैनिक ३५० देखि ४०० केजी र असंक्रमित फोहोर ८०० देखि १००० केजीसम्म सङ्कलन हुन्छ । १०२ वटा स्वास्थ्य संस्था यसमा आबद्ध छन् । यसमा ठूला साना अस्पताल, ल्याब, क्लिनिक आबद्ध छन् । स्वच्छ नेपाल हाम्रो अभियानका अध्यक्ष भानु भट्टले फार्मेसीहरू अझै यसमा आबद्ध नभएको बताउनुभयो । सबैलाई आबद्ध गर्न भने चुनौती भइरहेको उहाँको भनाई छ । आबद्ध नहुनेलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा भट्टको जोड छ । आबद्ध भएकाहरूले पनि पैसा दिने बेलामा आनाकानी गर्ने गरेका छन् । ठाउँ सरेर अन्यत्र जाँदा पनि जानकारी नगराउने प्रवृत्ति पनि देखिएको छ । भट्टका अनुसार स्वास्थ्य संस्थाले अरू बेला कुनै गुनासो नगर्ने तर पैसा उठाउन गएको बेला मात्र गुनासो गर्ने गरेका छन् । स्वास्थ्य संस्थाले फोहोरको मात्रा अनुसार महिनाको कम्तीमा १०० रुपैयाँदेखि ७० हजार रुपैयाँसम्म शुल्क बुझाउँछन् ।

सम्झौता बमोजिम नेपालगञ्ज उपमहानगरपालिका अनुगमनमा नगइदिएको दुःखेसो पनि भट्टले सुनाउनुभयो । महिनामा दुई पटक अनुगमन गर्नुपर्ने भनिएको छ । स्वच्छ नेपाल हाम्रो अभियानले प्रशोधनबाट निस्किएका काम लाग्ने बस्तु बजारमा विक्री गर्दा मासिक ४० हजार रुपैयाँसम्म आम्दानी गरिरहेको छ । उसले उपमहानगरपालिकालाई मासिक ४० हजार रुपैयाँ राजश्व पनि बुझाउँछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button