तपाईँ सुन्दै हुनुहुन्छः

सरकार र समुदाय मिलेर स्वास्थ्य क्षेत्र सुधार्छौँ : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार र समुदाय मिलेर स्वास्थ्य क्षेत्रमा सुधार गरिने बताउनुभएको छ ।

गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले विश्व मुटु दिवसको अवसरमा बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री आचार्यले स्वास्थ्य क्षेत्रको सेवाका लागि सरकार र समुदायबिच सहकार्य गरिने बताउनुभयो ।

‘म गम्भीर रोगलाई जितेर यहाँसम्म आइपुगेको छु । बिरामी हुँदा कस्तो अनुभूति हुन्छ, परिवारले कस्तो संकट भोग्नुपर्छ त्यो सबै अनुभूति मसँग छ । त्यसैले स्वास्थ्य क्षेत्रमा बिरामी र तिनका परिवारले भोग्ने समस्याहरू समाधान गर्न सरकार तयार छ,’ उहाँले भन्नुभयो–‘स्वास्थ्य क्षेत्रलाई नजिकबाट बुझ्ने अवसर पनि मिल्यो, हामी सुधार गर्ने ठाउँमा छौँ । अनुभूति हुने गरी सुधार गर्छौं ।’

मुख्यमन्त्री आचार्यले मुटुसँगै मृगौलाको उपचार र डायलाइसिस सेवालाई पनि सहज बनाउने बताउनुभयो । समुदायबाट स्वास्थ्य क्षेत्रमा गरिएको योगदानको प्रशंसा गर्दै उहाँले अस्पतालको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको जग्गा प्राप्ति र भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पूर्व स्वास्थ्यमन्त्री बिष्णु पन्थीले सरकारी स्वास्थ्य क्षेत्रका कर्मचारीहरूको ढिलासुस्ती र लापरवाहीका कारण सरकारले स्वास्थ्य उपचारमा आलोचना खेप्नुपरेको भन्दै सरकारले गरेका नीति नियमहरूको कार्यान्वयन गर्ने तहमा बसेका कर्मचारीहरू नसुध्रिएसम्म कुनै पनि क्षेत्र सुधार गर्न नसकिने बताउनुभयो।

उहाँले सरकारले अगाडी सारेका स्वास्थ्यका योजनाहरू कार्यान्वयन गर्न र सहज बनाउन कर्मचारी र स्वास्थ्यकर्मी पूर्ण रुपमा तयार हुनुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य चिन्तामणी पाण्डेले समुदायले स्वतःस्फूर्त रुपमा सञ्चालन गरेका गैर नाफामूलक संस्थाले सरकारले सघाउनुपर्ने बताउनुभयो ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले रुपन्देहीका उद्योगी व्यवसायी, विभिन्न रोटरी क्लब तथा समाजसेवीहरूको सहयोगमा अस्पताल स्थापना गरिएको भन्दै अब अस्पतालको जग्गा प्राप्ति र भवन निर्माणमा अभिभावकत्व लिन मुख्यमन्त्री आचार्यलाई आग्रह गर्नुभयो।

अस्पतालका सहसचिव बाबुराम बोहराको सञ्चालन तथा उपाध्यक्ष रामप्रसाद बस्यालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर समीर गौतमले अस्पतालमा हालसम्म भएका गतिविधि तथा मुटु रोगबाट जोगिन अपनाउनुपर्ने सावधानीबारे जानकारी गराउनुभएको थियो।

कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष दिलीप सापकोटा र रोटरी क्लब अफ बुटवलका अध्यक्ष प्रज्वल थान्जु लगायतले सम्बोधन गर्नुभएको थियो ।

२०७० साल पुस १० गते स्थापना भएको मुटु अस्पतालबाट झण्डै ११ सय मुटुका बिरामीले क्याथ ल्याबबाट सेवा लिइसकेका छन्। लुम्बिनी प्रदेशमै पहिलो पटक क्याथ ल्याब सेवा सुरु गरेको अस्पतालमा एन्जियोग्राफी, एन्जियोप्लाष्ट, पेशमेकर, पेरिकार्डियोसेन्टिसिस, पिटिएमसि र आरएचसि, सिटिस्क्यान लगायतका सेवा प्रदान हुँदै आएका छन् ।

लुम्बिनी प्रदेशका मात्र होइन नवलपरासीदेखि पश्चिमका अधिकांश जिल्लाका बिरामीले यहाँबाट सेवा लिँदै आएका छन् । यस्तै लुम्बिनी प्रदेशमा करिब ८ सय मृगौलाका बिरामी रहेकोमा ५ सय भन्दा बढी मृगौलाका बिरामीले मुटु अस्पतालले विभिन्न स्थानमा सञ्चालन गरेका डायलिसिस सेन्टरबाट नियमित मृगौलाको डायलिसिस सेवा लिँदै आएका छन् ।

बुटवलको अस्पतालसँगै दाङको लमही, पाल्पा, वालिङमा डायलिसिस सेन्टर सञ्चालन भइरहेका छन् । कपिलवस्तुको जितपुरमा आगामी १७ गतेदेखि डायलिसिस सेन्टर सञ्चालन हुँदै छ भने नवलपरासीको परासीमा पनि निकट भविष्यमै सञ्चालनको तयारीमा रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button