तपाईँ सुन्दै हुनुहुन्छः

‘कृत्रिम अभाव सृजना गरि मूल्यवृद्धि गर्नेलाई कारबाही गरिन्छ’

धनगढी । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चाडपर्वका समय बजारमा कृत्रिम अभाव सृजना गरि मूल्यवृद्धि गर्नेलाई सरकारले कडा कानुनी कारबाही गर्ने बताउनुभएको छ ।

कैलाली उद्योग वाणिज्य सङ्घद्वारा आज धनगढीमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भण्डारीले बजार मूल्यवृद्धि, कृत्रिम अभाव, खाद्य मिसावटलाई नियन्त्रण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो ।

सरकारले चाडपर्व लक्षित सुपथ (सहुलियत) मूल्यका पसल सञ्चालनमा ल्याएको र त्यस्ता पसलमा दैनिक उपभोग्य सामाग्री (चामल, दाल, चिनी, नुन लगायत) मा सहुलियतको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

मन्त्री भण्डारीले उपभोक्ताले बजारमा सहज र सहुलियत रुपमा उपभोग्य सामाग्री पाउनुपर्छ भन्नेतर्फ सरकार लागिपरेको उल्लेख गर्नुहुँदै उपभोक्ताको गुनासो नआउने गरि बजार अनुगमन कार्यलाई तीव्रता दिन मातहतका निकायलाई निर्देशन दिइएको बताउनुभयो ।

मन्त्री भण्डारीले इँटा लगायतका उद्योग क्षेत्रलाई वातावरणमैत्री बनाउने तयारी भइरहेको र त्यसको अध्ययनका लागी मन्त्रालयले उपसमिति गठन भएको बताउनु भयो । उहाँले निजी क्षेत्र मैत्री कानुन बनाउन र उद्योगी व्यवसायीलाई प्रोत्साहित हुने गरि सरकारले काम अघि बढाएको बताउनुभयो ।

संघका अध्यक्ष पुष्पराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा उद्योगी, व्यवसायी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button