तपाईँ सुन्दै हुनुहुन्छः

झोलुङ्गे पुलमा अराजक गतिविधि गर्ने महिलालाई पक्राउ गर्नुपर्ने सुनपाको माग

भक्तपुर । सुर्यविनायक नगरपालिकाले नगरपालिकाको ९ र १० नं वडाको सिमानामा रहेको झोलुङ्गे पुलमा अराजक गतिविधि गर्ने महिलालाई पक्राउ गर्नुपर्ने माग गरेको छ ।

झोलुंगेपुल चढेबापत पैसा लिन नपाइने भन्दै ’टिकट प्याड’ आगजनी गरेको र त्यहाँको अस्थायी संरचना समेत तोडफोड गरेको आरोपमा सुर्यविनायक नगरपालिकाले आफूलाई “अभियन्ता“ भन्दै आएकी आशिका तामाङ विरुद्ध प्रहरीवृत्त जगातीमा जाहेरी दिएको हो । 

तामाङले सोमबार आफू सहित ६–७ जना लगेर अस्थायी संरचना तोडफोड गरेको र त्यहाँ रहेका कर्मचारीलाई धम्की समेत दिएको आरोप नगरपालिकाले लगाएको छ ।

 चक्कु, कैँची, पेन्चिस, घन लगायतका घरायसी हतियार समेत लगेर उनीहरूले “अब पछि यहाँ कसैले प्रवेश शुल्क लिन नपाउने“ भन्दै तामाङले टिकट प्याड खोसेर आगो लगाएको भिडियो सामाजिक सञ्जालमा समेत राखेकी थिइन् । 

त्यस क्रममा  पुलमा राखिएको सङ्केत चिन्ह र अस्थायी संरचना समेत तोडफोड गरेको भन्दै नगरपालिकाका तर्फबाट कानुन शाखाका प्रमुख कपिल बहादुर अधिकारीले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएका हुन् । 

नगरपालिकाले आर्थिक वर्ष २०७९/८० बाटनै साँगाको पुलबाट ओहोरदोहोर गर्दा २० रुपैयाँ शुल्क लिने गरेको थियो । स्थानीय दुई वडाका बासिन्दालाई भने प्रवेश निःशुल्क थियो । त्यसैगरी सुर्यविनायक नगरपालिकावासीलाई भने ५० प्रतिशत छुट दिइएको नगरको भनाई छ । 

नगरपालिकाले आन्तरिक आम्दानीका लागि ठेक्का लगाएर त्यहाँबाट शुल्क लिने गरेको थियो । प्रवेश शुल्कको वास्तविकता के हो भन्ने नबुझी अफवाह फैलाउने प्रायोजित उद्देश्यले आफूखुसी भिडियो बनाइ सामाजिक सञ्जालमा पोस्ट गरिएको भन्दै नगरपालिकाले उनीविरुद्ध जाहेरी दिएको नगर प्रमुख बासुदेव थापाले बताउनुभयो । 

प्रमुख बासुदेव थापाले उक्त पुल पर्यटन प्रबद्र्धनका लागि बनाइएकाले पुलमा शुल्क लिनु अवाञ्छित नभएको दाबी गर्नुभयो। ‘पुल मात्र त्यहाँ पुग्ने बाटो हैन । पुरानो बाटो अर्कै छ । त्यो झोलुङ्गे पुल पर्यटन प्रबद्र्धनकै लागि बनाइएको हो । पुलमा टिकटक बनाउने, फिल्म सुटिङ गर्ने आदि गतिविधि हुन्छन् ।’, उहाँले भन्नुभयो । 

‘त्यहाँबाट थोरै मात्र पैसा सङ्कलन गर्ने गरिएको छ । त्यो रकम पनि व्यक्तिगत प्रयोजनका लागि नभएर नगरपालिकाको आन्तरिक आम्दानीका लागि हो । त्यही पैसाबाट त्यहाँका संरचनाहरूको मर्मत सम्भार गर्ने गरेका छौँ ’उहाँले भन्नुभयो ।

उहाँले केही व्यक्तिहरूले वास्तविकता नबुझी त्यहाँ उच्छृङ्खल गतिविधि गरेकाले उनीहरुलाई कारबाही हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button