तपाईँ सुन्दै हुनुहुन्छः

सुशासन मार्फत शान्ति, समृद्धिको लक्ष्य प्राप्तितर्फ प्रदेश सरकार: मुख्यमन्त्री सिंह 

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सरकार गठन भएको एक सय दिनको अवधिमा गरेका कामकाज आज जनकपुरधाममा विशेष कार्यक्रमको आयोजना गरेर सार्वजनिकीकरण गर्नु भएको छ । 

एक सय दिनमा प्रदेश सरकारले प्रदेशमा सुशासन, दिगो विकासका लक्ष्य हाँसिल गर्नका लागि विभिन्न प्रकारको संस्थागत, संरचनागत सुधार गर्दै परिवर्तनको अनुभूति हुने गरि नीतिगत कामको थालनी गरेको र यसले शान्ति तथा समृद्धिको लक्ष्य प्राप्तिमा मद्दत पुग्ने मुख्यमन्त्री सिंहले जानकारी दिनुभएको छ । 

प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालनमा रहेको प्रादेशिक अस्पताल जनकपुरधाममा ३ सय बेड थप गरेपछि चिकित्सा शिक्षा आयोगबाट ५० वटा कोटामा चिकित्सा शास्त्रको स्नातक तह अर्थात् एम वि वि एसमा पूर्ण छात्रवृत्तिमा विद्यार्थी भर्नाका लागि अनुमति प्राप्त गर्नमा सफल भएको उहाँले बताउनुभयो । 

उहाँले यस अवधिमा सबै मन्त्रालयका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्नुका साथै चालु आर्थिक वर्षमा सम्बन्धित मन्त्रालयबाट गर्नु पर्ने काम समय सीमा सहितको विवरण स्वीकृत भएर मुख्यमन्त्री तथा मन्त्रीपरिषद्मा प्राप्त भएको र त्यस अनुसारको काम तोकिएको समयम सिमामा भएको छ वा छैन त्यसको अनुगमन हुने बताउनु भयो । उहाँले यसै अवधिमा प्रदेश सरकारले प्रदेशमा खेलकुदको विकास गर्नका लागि बनेको विधेयक, वालिका संरक्षण विधेयक तथा स्थानीय तहको सेवा तथा सर्तका सम्बन्धमा बनेको विधेयक प्रदेश सभाबाट पारित गराउनुका साथै प्रदेशका लागि आवश्यक भएको धेरै विधेयकहरू निर्माण गरेर सम्बन्धित समितिमा छलफलको क्रममा रहेको जानकारी दिनु भयो । 

प्रदेश सरकारले धनुषा तथा सिरहा जिल्लामा नमूना शैक्षिक पार्कको निर्माणका लागि योजना बढाउनुका साथै अन्य जिल्लाहरूमा क्रमागत रुपमा शैक्षिक पार्कको निर्माण गर्ने नीतिगत निर्णय गर्ने काम भएको मुख्यमन्त्रीले जानकारी दिनुभयो । 

मुख्यमन्त्री सिंहले एकसय  दिनमा प्रदेश सरकारले कृषि सम्बन्धि सूचनाहरू कृषकको घर घरमा पुर्‍याउनका लागि महिला कृषि स्वयं सेविका राख्ने विषयमा सरकारले काम अगाडी बढाउनुका साथै माटोको परीक्षणका लागि कृषि परीक्षण भ्यान सञ्चालनमा ल्याउने काम यसै अवधिमा भएको बताउनु भयो । 

उहाँले विगतमा सञ्चालन हुन नसकेका कतिपय अस्पतालहरू सञ्चालनको प्रक्रिया अगाडी बढाउनुका साथै स्वास्थ्य क्षेत्रमा ४ सय विभिन्न पदमा प्रदेश सरकारले दरबन्दी स्वीकृत गर्ने काम गरेको बताउनु भयो ।  जनकपुरधामको रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालाको डिपिआर तयार गर्ने काम अन्तिम चरणमा पुग्नुका साथै ऐतिहासिक तथा धार्मिक महत्वको दुग्धमति नदिको प्राकृतिक बहावलाई जीवन्त दिनका लागि योजना बढाउने काम एक सयको दिनमा नै भएको मुख्यमन्त्रीले जानकारी दिनुभयो । 

यसै गरि मधेश प्रदेशका पत्रकारहरूलाई १ लाखको स्वास्थ्य विमाता साथै ७ लाखको दुर्घटना बिमा गर्नका लागि श्रोत सुनिश्चित गर्दै पत्रकारहरूको आधिकारिक विवरण सङ्कलनको काम भइरहेको मुख्यमन्त्रीले जानकारी दिनु भयो । उहाँले प्रदेश सरकारले भोलीको काम आज र आजको काम अहिले गर्ने नीति अख्तियार गरेर मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयबाट १ अर्ब तथा ऊर्जा तथा सिँचाई मन्त्रालयबाट २ अर्बको बोलपत्र आह्वान गर्ने काम एक सय दिनकै अवधिमा भएको बताउनुभयो ।

प्रदेश सरकारको एकसय दिनको अवधिमा भएको कामकाजको सार्वजनिकीकरण कार्यक्रममा मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादव, गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखी, खेलकुद तथा समाजकल्याणमन्त्री प्रमोद जयसवाल, स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रु धन प्रसाद सिंह, वन तथा वातावरणमन्त्री त्रिभुवन साह सहितका मन्त्रीहरू उपस्थित रहनु भएको थियो । 

प्रदेश सरकारको एक सय दिनको अवधिमा भएको कामकाजको सार्वजनिकीकरण कार्यक्रमको रेडियो नेपालको प्रादेशिक प्रसारण केन्द्र, मधेश प्रदेशले प्रत्यक्ष प्रसारण गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button