तपाईँ सुन्दै हुनुहुन्छः

‘संविधान संशोधन गर्दा व्यापक र सार्थक छलफल आवश्यक’

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संविधान संशोधन बहसमा आएको भन्दै यसको कार्यान्वयनको क्रममा देखिएका जटिलता हेरेर यसलाई अगाडी बढाउनुपर्ने बताउनुभएको छ ।

सभामुख घिमिरेले संविधान जारी भएको ९ वर्षको अवधिमा संविधान कार्यान्वयनका क्रममा कति कानुन बन्यो, बनाएका कति कानुन कार्यान्वयन भए र के कस्ता कमी रहे भन्ने दिशामा सबैले ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

संविधान सभा सदस्य परिषद् नेपालले आज सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले संविधान संशोधनको निम्ति सहमतिको वातावरण सिर्जना गर्ने र एक आपसमा सहमति गरेर समयसापेक्ष सुधार गर्ने काममा संविधान सभाका सदस्यहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

गृहमन्त्री रमेश लेखकले संविधान संशोधन मुलुकमा क्रियाशील राजनीतिक दलहरूबिचमा व्यापक र सार्थक छलफलबाट हुने बताउनुभयो ।

उहाँले मुलुकको दिगो शासन, सुशासन, विकास र समृद्धि हासिल गर्ने लक्ष्यमा सबै मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राप्त उपलब्धि नगुम्ने गरी जनताका अधिकारलाई केन्द्रमा राखेर संविधानको परिमार्जन र विकास गर्ने कुरामा आफूहरू स्पष्ट रहेको बताउनुभयो ।

बैठकमा संविधान सभाका सदस्यहरुले संविधानको कार्यान्वयन, यसको रक्षा र समयानुकूल संशोधनका लागि आफूहरूले भूमिका खेल्ने बताउनुभयो ।

संविधान सभा सदस्यहरु सदस्य रहेको संविधान सभा सदस्य परिषद् र सभासद् मञ्च दुई वटा संस्थालाई समायोजन गरी संविधान सभा परिषद् नेपाल संस्थाको स्थापना गरिएको छ ।

संस्थाको तदर्थ समितिले १० औँ संविधान दिवसको अवसरमा आज शुभकामना आदानप्रदान र चियापन कार्यक्रमको आयोजना गरेर एकीकृत रुपमा कार्य प्रारम्भ गरेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button