तपाईँ सुन्दै हुनुहुन्छः

तिलौराकोट-लुम्बिनी बोधिवृक्ष करिडोर निर्माणका लागि २८ किलोमिटर पद यात्रा 

रुपन्देही । प्राचीन बुद्धस्थल तिलौराकोट देखि बुद्ध जन्मस्थल लुम्बिनी सम्म बोधिवृक्ष कोरिडोर निर्माण पैदल पदयात्रा थालिएको छ । पीपल, नीम, तुलसी अभियान पटना भारत र जनकपुरधाम वन प्राविधिक समाज जनकपुरधामको संयुक्त आयोजना तथा तिलौराकोट साझेदारी वन उपभोक्ता समूहको संयोजनमा यात्रा थालिएको हो ।

बोधिवृक्ष कोरिडोर निर्माण सहयात्रा नाम दिइएको सो यात्रामा नेपाल वन प्राविधिक सङ्घले समेत समन्वयकारी भूमिका खेलेको छ । आध्यात्मिक र धार्मिक महत्व सँगसँगै मानव स्वास्थ्यका लागि बहुपयोगी पीपल, नीम र तुलसीको फाइदाबारे सचेतना गर्दै रुख रोप्दै शनिबार पैदल पदयात्रा सुरु गरिएको जनाइएको छ ।

 यो यात्रा दुई दिनमा तिलौराकोट देखी २८ किलोमिटर पदयात्रा गर्दै लुम्बिनी पुगेर सकिने छ । पदयात्राका क्रममा बाटोमा पर्ने विद्यालय, स्वास्थ्य संस्था, सामाजिक संस्था र कार्यालय परिसर र हातामा पीपल, नीम र तुलसीका रुख रोप्दै पदयात्रा अघि बढ्ने  छ ।

पहिलो दिन पदयात्रा कपिलवस्तुको पकडीमा बास बस्ने छ । पीपल, नीम तुलसी अभियान पटना भारतका डा। धमेन्द्रकुमारको नेतृत्वमा रहेको पदयात्रामा भारतका बिहार, उत्तरप्रदेश, उत्तराखण्ड, हरियाणा, उडिसा र हिमान्चल प्रदेशका १५ जना सहभागी छन् ।

पहिलो चरणमा भारतको बोधगया देखी राजगिर सम्म पिपल सहितका वृक्ष रोपिएको यो दोस्रो चरणको कार्यक्रम भएको जनकपुरधाम वन प्राविधिक समाजका महासचिव सुरेश शर्माले जानकारी दिनुभयो । शान्ति प्राप्तिमा वृक्षको भूमिका पुष्ट्याइँ गर्न यात्रा शुरु गरिएको शर्माको भनाइ छ ।

पीपलको महत्व धार्मिक दृष्टिले मात्रै नभएर ज्योतिष, आयुर्वेद एवं वैज्ञानिक दृष्टिले समेत महत्वपूर्ण मानिन्छ । त्यस्तै आयुर्वेदिक गुणले भरिपूर्ण नीम स्वास्थ्यवर्धक जडीबुटी हो । नीमको रुखका हरेक भाग औषधिका रूपमा आयुर्वेद विज्ञानमा प्रयोग गरिन्छ । यसको बोक्रा, जरा, पात आदिबाट औषधि बनाइन्छ । त्यस्तै तुलसीको पनि धार्मिक अनि सांस्कृतिक मात्र नभई स्वास्थ्यका दृष्टिलेपनि उपयोगी मानिन्छ ।

बुद्धले वृक्ष मुनी नै ज्ञानको खोजी गर्नुका साथै शान्ति र आनन्द पाएकाले अध्यात्ममा वृक्षको भूमिका महत्वपूर्ण रहेको नेपाल वन प्राविधिक संघका केन्द्रिय अध्यक्ष राकेश कुमार कर्णले बताउनुभयो । 

अध्यात्ममा वृक्षको भूमिका दर्शाउन तथा वृक्षारोपणको महत्व वृद्धि गर्न बोधिवृक्ष कोरिडोर निर्माण सहयात्रामा समन्वयकारी भूमिका खेलेको तिलौराकोट साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष जय प्रकाश पाण्डेयले बताउनुभयो । पदयात्राको कार्यक्रममा पुर्वमन्त्री तथा भारतकालागी पुर्व नेपाली राजदूत दिप कुमार उपाध्याय, पुर्वमन्त्री दान बहादुर चौधरी, प्रदेशसभा सदस्य सुधाकर पाण्डेय लगायतको सहभागिता रहेको थियो । 

अन्तर्राष्ट्रियस्तरमा भारतले कपिलवस्तु भारतमा रहेको विभिन्न दाबी गर्दै गरेका बेला भारतीय पर्यावरणबिदको सहभागितामा राजा शुद्धोधनको राजधानी तिलौराकोट देखी बुद्ध जन्मस्थल लुम्बिनी सम्म गर्न थालिएको बोधिवृक्ष कोरिडोर निर्माण सहयात्रा महत्त्वपूर्ण हुने देखिएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button