तपाईँ सुन्दै हुनुहुन्छः

मोबाइल नेटवर्कको समस्या समाधान छिट्टै हुन्छ : मन्त्री गुरुङ

बीरगंज । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बारासहित देशका विभिन्न स्थानमा रहेको मोबाइल नेटवर्कको समस्या समाधानका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ ।

बाराबाट काठमाडौँ पुगेको नेकपा एमाले पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री पुरुषोत्तम पौडेल नेतृत्वको प्रतिनिधिमण्डलसँगको छलफलमा सञ्चार मन्त्री गुरुङले देशका विभिन्न स्थानमा मोबाइल फोनको ४ सय वटा टावरको टेण्डर प्रक्रिया सुरु गरिएको उल्लेख गर्नुहुँदै छिट्टै समस्या समाधान हुने बताउनुभयो ।

बाराबाट गएको प्रतिनिधिमण्डलले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को टाँगिया बस्ती वडा नम्बर २२ को चकरी, निजगढको रतनपुरलगायत बारा जिल्लाका विभिन्न स्थानमा मोबाइल नेटवर्कको समस्या रहेकोले भरपर्दो टावरको व्यवस्था मिलाउन अनुरोध गरेको थियो ।

सो अवसरमा मन्त्री गुरुङलाई २१औँ शताब्दीमा पनि बारा जिल्लाका कतिपय स्थानमा नेटवर्कको समस्या हुँदा रुखमा चढेर मोबाइल चलाउनुपर्ने बाध्यता रहेको सम्बन्धमा ध्यानाकर्षण गराइएको प्रतिनिधिमण्डलमा सहभागी एमाले मधेस प्रदेशका सचिव मनोज पौडेलले जानकारी दिनुभयो ।

बाराबाट काठमाडौँ पुगेको प्रतिनिधिमण्डलमा पूर्वमन्त्री पुरुषोत्तम पौडेल, नेकपा एमालेका प्रदेश सचिव मनोज पौडेल, टाँगिया बस्ती सरोकार समितिका संयोजक रमेश सापकोटा, एमाले रौतहटका उपाध्यक्ष रुपेश पटेल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button