तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रको हितको पक्षमा सबै दलहरू एक ठाउँमा आउन जरुरी : मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले संविधान संशोधन गर्नका लागि कांग्रेस र एमाले मात्रै भएर सम्भव नहुने बताउनुभएको छ।

नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा आज आयोजित संविधान दिवस एवम् राष्ट्रिय दिवस २०८१ को पूर्व सन्ध्यामा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले एमाले र कांग्रेस एक ठाउँमा आउनुको पछाडि केबल सत्ता मात्रै नभएको प्रस्ट पार्नुभयो।

“दुई वटा ठूला दल एक ठाउँमा आउनु भनेको सत्ताका लागि होइन । देशको दूरगामी परिवर्तन र सङ्कटबाट जोगाउनका लागि एक ठाउँमा आएका हौँ। हामी २०४८ सालदेखि प्रतिस्पर्धी दल हौँ । २०८४ मा एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा हुन्छ”, उहाँले भन्नुभयो, “संविधान संशोधन गर्नुपर्ने छ। कांग्रेस र एमाले मात्रै भएर संविधान संशोधन गर्न सम्भव छैन। राष्ट्रको हितका पक्षमा नेकपा माओवादी, राप्रपा, रास्वपा लगायतका दलहरू समेत एक ठाउँमा आउन जरुरी छ।”

उहाँले १० वर्षमा संविधानलाई पुनरावलोकन गर्नुपर्ने बेला आइसकेकाले संविधान संशोधन गर्नु पर्नेमा जोड दिनुभयो ।

मन्त्री पाण्डेले लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा समानुपातिक, समावेशीता जस्ता कुराले संविधानलाई जीवन्त राख्ने काम भएको बताउनुभयो । उहाँले संविधानलाई जीवन्त बनाउन कामकाजी हुनुपर्ने तथा संविधानसँग जोडिएका ऐन कानुन निर्माण गर्न जरुरी रहेको औँल्याउनुभयो।

मन्त्री पाण्डेले संस्कृति समाजको प्राण भएकाले समाजका विविध संस्कार संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button