तपाईँ सुन्दै हुनुहुन्छः

चितवन गोल्डकपको तयारी पुरा, उद्घाटन खेलमा सूर्यपुर र बागमती भिड्ने  

चितवन । गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको तयारी पुरा भएको छ । भरतपुर फुटबल क्लब बिएफसीको आयोजनामा असोज ३ गतेदेखि हुने प्रतियोगिताको तयारी पुरा भएको हो ।

नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिम केन्द्र) को मैदानमा असोज १२ गतेसम्म चल्ने प्रतियोगिताको तयारी पुरा भएको संयोजक ध्रुव भुसालले जानकारी दिनुभयो । प्रतियोगिताका लागि मैदान मर्मतलगायतको काम सकिएको उहाँले बताउनु भयो  ।

प्रतियोगितामा कुल १० टोली सहभागी छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा सूर्यपुर एफसी, बागमती युवा क्लब सर्लाही, सल्हेस एफसी सिराहा, न्यु स्टार एफसी सुनसरी र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

यस्तै समूह बी मा हानामी बिएफसी, राईजिङ स्टार भुमही, नेपाल पुलिस क्लब, वीरगञ्ज युनाइटेड र एपिएफ फुटबल क्लब काठमाडौँ रहेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुर एफसी र बागमती भिड्नेछन् । उद्घाटन खेल दिउँसो ४ बजे सुरु हुनेछ । त्यस अघि एक भव्य कार्यक्रमकाबीच प्रतियोगिताको उद्घाटन गरिनेछ ।

प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले १५, विधागत उत्कृष्टले १० तथा म्यान अफ दि म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

करिब ४० हजार दर्शकले प्रत्यक्ष रुपमा प्रतियोगिताको खेलहरू अवलोकन गर्ने आयोजकको अनुमान छ । दर्शकका लागि पहिलो चरणमा ५०, क्वाटरफाइनल र सेमिफाइनलमा एक सय तथा फाइनलमा दुई सय रुपैयाँको टिकटको व्यवस्था गरिएको संयोजक भुसालले जानकारी दिनुभयो ।

प्रतियोगिताको मुख्य प्रायोजकमा गोल्डेन ईमिनेन्ट ईन्टरनेशनल तथा सह प्रायोजकमा हानामी ईन्टरनेशनल एजुकेसन रहेका छन् । बागमती प्रदेश सरकार, भरतपुर महानगरपालिका र चितवन जिल्ला फुटबल संघ प्रतियोगिताको प्रवद्र्धक संस्था हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button