तपाईँ सुन्दै हुनुहुन्छः

समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्न विज्ञान र प्रविधिको उपयोग अपरिहार्य: प्रम ओली

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा’  पुरा गर्न विज्ञान प्रविधिको उपयोग अपरिहार्य रहेकोमा जोड दिनुभएको छ । विज्ञान तथा प्रविधि, विकास र उत्पादन वृद्धि भन्ने नाराकासाथ आज  १२औँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा वैज्ञानिक, विज्ञानमा साँचो वा वैज्ञानिक खोज, अनुसन्धान र सोचको प्रवद्र्धनमा तल्लीन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा प्रधानमन्त्री ओलीले  शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भन्नुभएको छ “परापूर्वकालमा असाधारण र विज्ञान प्रवर्तक थियो । समय क्रममा हामीले आफ्नो ढङ्गले यसलाई विकास गरेर जान सकेनौँ । बाँकी संसारले ज्ञानको उज्यालोसँग साक्षात्कार गर्न नपाएको युगमा  पनि विज्ञानका युगान्तकारी सिद्धान्त हाम्रो शिक्षा, शिक्षा प्रणाली र मौलिक परम्परामा समेटिएका थिए । खगोल शास्त्र, भूगोल शास्त्र, औषधि विज्ञान, जीव विज्ञानको क्षेत्रमा हेर्दा हामी उहिल्यै अगाडि थियौँ । समय क्रममा हाम्रा सामु नयाँ परम्परा र परिवेश आए र तिनलाई अगाडि बढाउनु पर्‍यो । अब फेरि हामीले विज्ञानको संसारमा हाम्रो आफ्नै वैज्ञानिक खोज परम्परालाई पनि पुनर्जागृत गर्नुपर्छ । “

समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधिको भूमिका अपरिहार्य रहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीले यसका लागि सरकार विज्ञान र प्रविधिलाई मेरुदण्डका रुपमा अङ्गीकार गर्दै आर्थिक विकास एवं सामाजिक रुपान्तरणको प्रक्रियालाई तीव्र बनाउन अग्रसर रहेको बताउनुभएको छ । 

सरकारले प्राविधिक विकासलाई उत्पादनको मूल आधार मानेको छ, विज्ञान र प्रविधिको शिक्षालाई प्रगतिको वाहकका रुपमा अङ्गीकार गर्ने नीति लिएको छ । विज्ञान र प्रविधिको क्षेत्रमा विद्यमान संरचनाहरूको सशक्तीकरण र सबलीकरण पनि उत्तिकै आवश्यक रहेको छ । यस्ता सङ्गठनहरू उच्चस्तरीय आयोग बनाई पुनः संरचनाको खाका तयार गरी कार्यान्वयन गर्ने सरकारको दीर्घकालीन नीति रहेको छ ।

सरकारले अनुसन्धान तथा उद्यमशीलता प्रवद्र्धन गर्न आविष्कार कोष, स्टार्टअप फण्ड जस्ता वैज्ञानिक, अनुसन्धानकर्मी र देशमै उद्यम गर्न खोजिरहेका युवाहरू केन्द्रित कार्यक्रमहरूको लागि सरकारले बजेट विनियोजन गरेको छ । देशलाई आवश्यक वैज्ञानिक खोज, अनुसन्धानमा उच्च शिक्षाका जनशक्तिहरूको उचित प्रयोग गरी तथ्य आधारित नीति, कार्यक्रमहरू निर्माणमार्फत ज्ञानमा आधारित दिगो अर्थतन्त्रको निर्माणमा हामी केन्द्रित हुन आवश्यक छ । त्यसका लागि उपयुक्त कार्यक्रमहरू समन्वयात्मक रुपमा अगाडि बढाउन सरकारले प्रयास गरिरहेको छ– प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्रीले दिवसको सफलताको कामना गर्दै सन्देशमा भन्नुभएको छ– १२औँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा फेरि एक पटक वैज्ञानिक सोच, विधि र प्रक्रियाबाट राष्ट्रको समुन्नति हासिल गर्न हामी सबैलाई सफलता मिलोस् भन्ने कामना गर्दछु । विज्ञानको महत्व र अपरिहार्यताका सम्बन्धमा हरेक व्यक्तिलाई अवगत गराउन वा सचेत तुल्याउन यो दिवस सफल होस् । यस अवसरमा आयोजित विभिन्न कार्यक्रमहरूको पूर्ण सफलताको कामना गर्दछु ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button