तपाईँ सुन्दै हुनुहुन्छः

रामग्रामबासीलाई मोतियाबिन्दुको शल्यक्रिया र रगत निःशुल्क

नवलपरासी,पश्चिम्।पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिदिने भएको छ । मोतियाबिन्दु भएका नगरवासीको निःशुल्क शल्यक्रिया गर्न नगरपालिकाले परासीमा रहेको विनोद निता कंण्डेल आँखा अस्पताल सँग सम्झौता गरेको हो।

नगरपालिकाको सिफारिसमा निःशुल्क शल्यक्रिया गर्ने गरी सम्झौता गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यम बहादुर कुँवरले जानकारी दिनुभयो। नगरपालिकाले आँखा अस्पताललाई दुई लाख पचास हजार रुपैयाँ शल्यक्रियाका लागी उपलब्ध गराउने छ । ४६ जनालाई उक्त बजेटमा शल्यक्रिया गर्न सकिने आँखा अस्पतालका व्यवस्थापक अजय पाण्डेले बताउनुभयो ।

नगरपालिकाले उपलब्ध गराएको बजेटमा प्रति बिरामी शल्यक्रिया खर्च बापत ११ सय रुपैयाँ अस्पतालले लागत साझेदारीमा व्यर्होने जनाएको छ ।

विशेष गरी आर्थिक अवस्था कमजोर भएकाहरूलाई सहयोग पुगोस् भन्ने हेतुले नगरपालिकाले निःशुल्क शल्यक्रियाको व्यवस्था गरेको नगर प्रमुख धनपत यादवले बताउनुभयो । उहाँले तत्कालका लागी बजेटको उपलब्धताको आधारमा ४६ जनाको शल्यक्रिया निःशुल्क गरिने र आगामी बजेटमा रकम वृद्धि गरी यो कार्यक्रमलाई थप व्यापक बनाइने यादवले बताउनुभयो । लामो समय सम्म मोतियाबिन्दको उपचार नगर्दा कतिको दृष्टि नै गुम्ने जोखिम पनि देखिएकाले सोही कुरालाई मध्यनजर गर्दे यस्तो कार्यक्रम सुरु गरिएको उहाँको भनाई छ ।

“मुलत विपन्न व्यक्तिहरूले यसबाट लाभ लिन सकुन भन्ने नै हो,आर्थिक अभावमै शल्यक्रिया बाट वञ्चित हुनु पर्दैन”नगरप्रमुख यादवले रेडियो नेपाल सँग भन्नुभयो ।

नगरपालिकाको सिफारिसको आधारमा अस्पतालले शल्यक्रिया गर्ने जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले बताउनुभयो ।

नगरपालिकाले रामग्रामबासीलाई निःशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाईटी सँगै सम्झौता गरेको छ । रेडक्रसलाई दुई लाख ५० हजार रकम विनियोजन गरी नगरवासीलाई निुशल्क रगत उपलब्ध गराउने गरी सम्झौता भएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासीका सभापति राजेन्द्र अग्रहरीले जानकारी दिनुभयो ।

विगतमा पनि निःशुल्क रगत उपलब्ध गराउँदै आएको बताउँदै अग्रहरीले नगरपालिकाले बजेट विनियोजन गरी सहयोग गरेको अग्रहरीले उल्लेख गर्नुभयो ।

गत आर्थिक वर्षमा रामग्रामबासीको लागी मात्रै रेडक्रसले ५ सय ७० पिन्ट रगत निःशुल्क उपलब्ध गराएको थियो । नगर प्रमुख यादवले रगत जस्तो अत्यावश्यक कुरामा नगरवासीलाई समस्या नहोस् भन्ने उद्देश्यले निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो ।

स्वास्थ्य क्षेत्रमा यस अगावै नगरपालिकाले विभिन्न काम गर्दै आइरहेको छ ।गर्भवती महिलाका लागि घर आगनमै भिडियो एक्सरे सेवा समेत सुरु गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button