तपाईँ सुन्दै हुनुहुन्छः

‘कृषिको व्यवसायीकरण र औद्योगिक क्षेत्रको विकासबाट मात्रै समृद्धि सम्भव’

वीरगन्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिष कुमार सिंहले मधेशको समृद्धि कृषिको व्यवसायीकरण, र औद्योगिक क्षेत्रको विकासबाट मात्रै सम्भव रहेको बताउनुभएको छ ।

उहाँले उद्योग कलकारखाना स्थापनासँगै मधेशमा रहेको जनशक्तिलाई रोजगारी उपलब्ध गराएर समृद्धिको खाका कोर्ने अभियानमा मधेश सरकार जुटेको बताउनुभयो ।

नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगन्जमा आयोजित एक कार्यक्रमबिच उद्घाटन गर्नुहुँदै नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले युवालाई स्वदेशमै स्वरोजगारको अवसर प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले युवाहरूलाई विदेश पलायन कम गर्न र स्वदेशमै सीपयुक्त बनाउँदै टिकाउन सरकारले मञ्चसँग सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले परिसंघले सरकारलाई बजेट निर्माणदेखि नीतिगत सुझाव दिँदै आएको उल्लेख गर्दै युवा र महिला उद्यमी मञ्चद्वारा उद्यमशीलताको विकासमा उल्लेखनीय योगदान भइरहेको बताउनुभयो । अग्रवालले परिसंघले सञ्चालित ‘सीप नेपाल’ कार्यक्रम अन्तर्गत ४ हजार ३ सय युवालाई विभिन्न सीप प्रदान गरेको जानकारी दिनुभयो ।

मधेस प्रदेशका परिसंघ अध्यक्ष प्रमोद कुमार साहले युवा उद्यमीलाई एकीकृत गरी प्रदेशमा सीपयुक्त जनशक्ति उत्पादन गर्ने योजनाका साथ परिसंघ अघि बढेको बताउनुभयो ।

सो अवसरमा रजत बजाजको अध्यक्षतामा नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्च मधेस प्रदेश च्याप्टर गठन गरिएको छ । मञ्चको पदाधिकारीमा अनन्या रुंगटा, दीपक साह, आयुषी तुल्स्यान, मोहित खण्डेलवाल र तनुश्री अग्रवाल रहेका छन् ।

नवगठित मञ्चका अध्यक्ष रजत बजाजले कार्यक्रमको समापनमा मञ्चको लक्ष्य मधेस प्रदेशको उद्योग र व्यवसायमा उल्लेखनीय योगदान पुर्‍याउनु रहेकोमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button