तपाईँ सुन्दै हुनुहुन्छः

आप नेता केजरीवालले पदबाट राजीनामा दिने

नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने आइतबार घोषणा गर्नुभएको छ । 

उहाँले दिल्लीका जनताले आफूलाई ‘इमानदार’ प्रमाणित नगरेसम्म मुख्यमन्त्रीको कुर्सीमा नबस्ने बताउनुभएको छ । यदि जनताले आफूलाई भोट दिए भने यो आफ्नो ‘इमान्दारिता’को प्रमाण पत्र हुने उहाँले बताउनुभयो । 

आम आदमी पार्टी (आप) को कार्यालयमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै मुख्यमन्त्री अरविन्द केजरीवालले भन्नुभयो, “म दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिन गइरहेको छु। जनताले आफ्नो निर्णय नदिएसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन । म हरेक घर र गल्लीमा जान्छु तर जनताबाट निर्णय नआएसम्म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन ।” 

उहाँले अगाडि भन्नुभयो, “निर्वाचन केही महिनापछि हुन्छ । यदि तपाईँलाई केजरीवाल इमानदार लाग्छ भने मलाई भोट दिनुहोस् र लाग्दैन भने नदिनुहोस् । म चुनावबाट अनुमोदित भएपछिमात्र मुख्यमन्त्रीको रूपमा कार्यभार सम्हाल्नेछु। तपाईँको मत मेरो इमान्दारिताको प्रमाण हुनेछ ।”

दुई दिन पहिले जेलबाट जमानतमा रिहा हुनुभएका मुख्यमन्त्री केजरीवालले भन्नुभयो, “आगामी फेब्रुअरीमा निर्वाचन हुने बताइएको छ । म महाराष्ट्रको चुनावसँगै नोभेम्बरमा चुनाव हुनुपर्ने माग गर्दछु।”

“निर्वाचन नहुञ्जेलसम्मका लागि पार्टीबाट अर्को कोही मुख्यमन्त्री बन्ने र यसका लागि आगामी दुई  वा तीन दिनमा विधायकहरूको बैठक बस्नेछ र बैठकले अर्को मुख्यमन्त्रीको निर्णय गर्नेछ,”उहाँले भन्नुभयो । 

केजरीवालले केन्द्र सरकारले भाजपाले चुनाव हारेका राज्यका मुख्यमन्त्रीविरुद्ध मुद्दा दायर गर्ने सूत्र अपनाएको आरोप पनि लगाउनुभयो । 

उहाँले राजीनामाबारे आफूमाथि उठाइएको प्रश्नबारे भन्नुभयो, “केजरीवालले जेलबाट किन राजीनामा नदिएको भनेर प्रश्न उठेको छ । मैले लोकतन्त्र बचाउन चाहन्थेँ त्यसैले राजीनामा नदिएको हुँ ।” 

दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाल शुक्रबार राति तिहाड जेलबाट छुटेपछि शनिबार पार्टीका वरिष्ठ नेताहरूसँग बैठक गर्नुभएको र आइतबार पार्टी कार्यालयमा उपस्थित हुनुभएको हो । 

सर्वोच्च अदालतले दिल्लीको कथित मदिरा नीति प्रकरणसँग सम्बन्धित भ्रष्टाचारको मुद्दामा उहाँलाई जमानत दिएको केही घण्टापछि शुक्रबार साँझ उहाँ तिहाड जेलबाट रिहा हुनुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button