तपाईँ सुन्दै हुनुहुन्छः

यादवलाई अष्ट्रेलियाका लागि राजदूत नियुक्त गर्न सरकारको सिफारिस

काठमाडौँ । सरकारले सिराहाका चित्रलेखा यादवलाई अष्ट्रेलियाका लागि आवासीय नेपाली राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेको छ ।

भदौ २४ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलन सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले अष्ट्रेलियाका लागि आवासीय राजदूत पदमा सिफारिस हुनुभएका चित्रलेखा यादवलाई फिजी, न्युजिल्याण्ड, पपुवा न्यु गिनी, भानुभाटू, टूभालू, सोलोमन आइल्याण्डस्, सामोआ, पलाउ, नाउरु, मार्शल आइल्याण्ड्स र टोङ्गा अधिराज्यको गैरआवासीय राजदूतको पदमा ४ वर्षका लागि नियुक्तिका लागि सिफारिस गर्ने निर्णय भएको बताउनुभयो ।

यस्तै, सरकारले भू उपयोग दोस्रो संशोधन नियमावली २०८१ लाई स्वीकृत गरेको, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि कार्यान्वयनसम्बन्धी राष्ट्रिय प्रतिवेदन स्वीकृत गरेको पनि मन्त्री गुरुङले बताउनुभयो ।

सो प्रतिवेदन संयुक्त राष्ट्र सङ्घको अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि समितिमा पेश गरिने मन्त्री गुरुङले जानकारी दिनुभयो ।

यस्तै मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालय र मातहत कार्यालयहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गरेको छ ।

बैठकले साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १५/१५ हजार मेट्रिक टनका दरले कुल ३० हजार मेट्रिक टन चिनीको आयातमा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छुट दिई आयात गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

यससँगै मन्त्रिपरिषद् बैठकले विभिन्न देशहरूमा हुने विभिन्न उच्चस्तरीय भ्रमणहरू स्वीकृत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button