तपाईँ सुन्दै हुनुहुन्छः

वैदेशिक रोजगारीमा रही समस्यामा परेकालाई शीघ्र उद्धार गर्न कूटनीतिक पहल भइरहेको मन्त्री भण्डारीको भनाई

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले वैदेशिक रोजगारीमा रहेका महिला तथा पुरुषलाई परेको समस्यामा शीघ्र उद्धार गर्न कूटनीतिक पहल गरिरहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रेम सुवालले राख्नुभएको प्रश्नको जवाफ दिँदै श्रम मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जानुपूर्व अभिमुखीकरण तालिम दिने गरिएको, महिला कामदारका लागि जोर्डनसँग श्रम सम्झौता गरिएको बताउनुभयो ।
मन्त्री भण्डारीले म्यानपावर कम्पनी विरुद्ध ४ हजार ८ सय ५७ वैदेशिक रोजगारी सम्बन्धि ठगिका उजुरी परेकोमा  २ हजार ४ सय उजुरी फर्स्यौट भएको जानकारी दिनुभयो ।
यसअघि सांसद प्रेम सुवालले वैदेशिक रोजगारीमा गएका नेपाली महिलाहरू दुर्व्यवहारमा परेको र म्यानपावर कम्पनीहरूले ठगी गरेको भन्दै मन्त्री भण्डारीको ध्यानाकर्षण गराउनुभएको थियो ।
यसैगरी सांसद प्रेम सुवालले राख्नुभएको प्रश्नको जवाफ दिँदै खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा खानेपानी समस्यालाई सहज बनाउन मन्त्रालयले पहल गरिरहेको बताउनुभयो ।
मन्त्री यादवले उपत्यकाको खानेपानी समस्या समाधानमा हाल उपलब्ध पानीका स्रोत पर्याप्त नभएको भन्दै मेलम्ची खानेपानी आयोजनासँगै याङग्री र लार्केको पानी ल्याउनका लागि सरकार लागिरहेको बताउनुभयो ।
काठमाडौँ उपत्यका लगायत देशैभरका जनतालाई खानेपानी पुर्‍याउनका लागि मन्त्रालय प्रतिबद्ध रहेको र तदारुकताका साथ काम गरिरहेको पनि मन्त्री यादवले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button