तपाईँ सुन्दै हुनुहुन्छः

हातमा लालपुर्जा हुँदाहुँदै सुकुम्वासी बन्न पुगे स्थानीय बासिन्दा

अर्घाखाँची । शीतगङ्गा नगरपालिकाका बासिन्दाले कैयौँ वर्षदेखि आफूले भोगचलन गरेको जग्गाको नयाँ लालपुर्जा पाउन सकेका छैनन् ।

विसं २०५७ मा पाएको पुर्जा आफूहरूसँगै रहेको र सोही आधारमा नगरपालिकामा तिरो तिर्दै आएको भए पनि नयाँ पुर्जा पाउन नसकेपछि सुकुम्वासीजस्तै भएको शीतगङ्गा–१२ का स्थानीय देवेन्द्र पौडेलले बताउनुभयो । अर्घाखाँचीमा भएको पुनः नापीबाट आफूहरूले पुर्जा पाउन नसकेको भन्दै सयौँ जनाले जिल्ला प्रशासन कार्यालयमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायलाई ज्ञापनपत्र बुझाएका छन् ।

सशस्त्र द्वन्द्वको समयमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले २०५९ र २०६१ सालमा गरेको सदरमुकाम आक्रमणमा जग्गासम्बन्धी सबै कागजात जलेर नष्ट भएका थिए । त्यसपछि जिल्लामा पुनः नापीबाट जग्गा नापी गरी नयाँ लालपुर्जा वितरण गरिएको छ ।

वडा कार्यालय, नगरपालिकाको कार्यालय, विशेष नापी कार्यालयलगायत कार्यालयमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि आफूहरूको माग सुनुवाइ नभएपछि स्थानीय जनता प्रमुख जिल्ला अधिकारीसमक्ष पुगेका थिए हुन् ।

शीतगङ्गा नगरपालिका–१२ को खुम्चीकोट, पिरापानी, खलेयाखर्क, दमारे, धौलेटाकुरा, दरबारे, टिकरी, जलुके, टर्रेलगायतका झण्डै १५० जनाले तिरो तिरेको रसिद र पुरानो जग्गाधनीपुर्जा देखाउँदा पनि नयाँ पुर्जा पाउन नसकेको पिरापानीका स्थानीय देवीराम गैरेले बताउनुभयो ।

साविक २०४० सालमा एकसरो नापी भएको नक्सा र अहिले त्यस स्थानका स्थानीयले भोगचलन गरेको जग्गाको नक्सा नमिलेपछि पुर्जा दिन नसकेको विशेष नापी कार्यालयका प्रमुख डिल्लीराज भण्डारीले बताउनुभयो । यस्तो समस्याबारेमा विभाग र मन्त्रालयमा जानकारी पनि गराएको उहाँको भनाइ छ ।

स्थानीयले अहिले भोगचलन गरेको जग्गा छ, नापी पनि पुनः गरिएको भएपनी २०४० सालको नापीको नक्सामा जङ्गल देखिएकाले पुर्जा दिन नसकेको नापी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button