तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले सडक र पुल बगाउँदा कर्णाली राजमार्ग पूर्ण रुपमा अवरुद्ध

सडक खुल्न कम्तीमा तीन दिन लाग्ने अनुमान

जुम्ला । अविरल वर्षापछि आएको भीषण पहिरोले साविक कर्णालीको जुम्ला,कालिकोट,मुगु जोड्ने एकमात्र राष्ट्रिय राजमार्ग कर्णाली राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।

बुधबार रातीदेखि भएको अविरल वर्षापछि आएको गगने खोलामा आएको भीषण पहिरोले सडक र दहिखोलामा आएको पहिरो पूलनै बगाउँदा राजमार्ग पूर्ण रुपमा बन्द भएको हो । 

राजमार्गको गगने खोला,एस मोड,दैखोला र मेहर खोलामा आएको बाढीले  पहिरोले राजमार्ग अवरुद्ध भएको सडक डिभिजन जुम्लाका प्रमुख चेतन कुमार मण्डलले बताउनुभयो । उहाँका अनुसार तीन ठाउँमा ठुलो पहिरो सहित हुल्म,जिते, जितेगडा,सेरिघाट लगायतका स्थान ससाना थुप्रै पहिरो आएकोले सडक खुल्न कम्तीमा ३ दिन लाग्ने देखिएको छ । 

सडक डिभिजन जुम्लाको कार्यक्षेत्र दैखोला–जुम्लाको १०४ किमी क्षेत्रभित्र निरन्तर आइरहेको पहिरोले यात्रा सास्तीपूर्ण बनेको छ । विशेषगरी शुभकालिका गाउँपालिका जानका लागि निर्माण गरिएको ग्रामीण सडकबाट ढुङ्गा सहितको भीषण पहिरो आएपछि राजमार्गको गगने खोलाको सडकनै बगाएको छ । गगने खोलामा सडकनै भिरालो जमिनमा परिणत भएको छ । 

शुभकालिका गाउँपालिका जाने बाटोको माटो र ढुङ्गा एकै साथ आएपछि गगने खोलामा लगाएको टेवा पर्खाल र सडक पुरै बगाएपछि सडक अवरुद्ध भएको डिभिजन प्रमुख मण्डलले जानकारी दिनुभयो । 

डिभिजनबाट मेसिन सहित पहिरो पन्छाउन जनशक्ति परिचालन भइरहेका छन् । तर साना ठुला गरी दर्जनबढी गाउँमा पहिरो आएकोले सडक खुल्न ३ देखी ४ दिने लाग्ने अनुमान गरिएको सडक डिभिजनले जनाएको छ । 

उता दैखोलामा बाढीले पूलनै बगाएको छ । उक्त खोलामा एक मालबहाक ट्रक समेत फसेको छ । गगने खोलामा वर्षेनी पहिरो जाँदा यात्रुहरूले सास्ती खेप्नु परेको छ । सडक अवरुद्ध भएपछि जुम्ला कालिकोट मुगुबाट सुर्खेत नेपालगन्ज जाने सवारी रोकिएका छन् । भने स्याउ बोकेर गएका मालवाहक सवारी पनि रोकिँदा स्याउ कुहिन सक्ने चिन्तामा व्यापारी छन् । 

२ सय ३२ किमी लामो कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक वर्षा लागेपछि बेला–बेला पहिरोले अवरुद्ध हुँदै आएको छ । हाल सम्म चार दर्जन भन्दा बढी  पहिरो गएपनि यस वर्षको हाल सम्मकै ठुलो पहिरो गगने खोला आएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button