तपाईँ सुन्दै हुनुहुन्छः

तीजको अवसरमा महिला उद्यमीबाट उत्पादित सामाग्रिको विक्री तथा प्रदर्शनी

नुवाकोट । तिज पर्वको अवसरमा नुवाकोट उद्योग बाणिज्य संघले ‘महिला उद्यमीले उत्पादन गरेको कृषि उब्जनी तथा हस्तकलाको सामाग्रि विक्री तथा प्रदर्शनी’मा राखेको छ ।

शनिबार नुवाकोटको बट्टारमा तिज विशेष कार्यक्रम सहित जिल्लाका किसान तथा उद्यमी महिलाले तयार गरेको स्थानीय उत्पादनलाई प्रदर्शनी तथा विक्री कक्ष मार्फत उद्यमी र उपभोक्तालाई प्रत्यक्ष लाभपुग्ने कार्यक्रम गरिएको हो ।

प्रदर्शनीमा महिला उद्यमीले फलाएको स्थानीय रैथाने जातका भान्सामा चाहिने तरकारी तथा मसलेदारबाली अवलोकनकर्ताको रोजाईमा परेको छ ।

यस्तै, हस्तकला तथा साना घरेलु उद्योगमा उत्पादित ढाकाबाट बुनेका कपडा, सरसफाई लगायत दैनिक जनजीवनमा प्रयोग हुने सामाग्रि विक्रीबाट राम्रो लाभ लिन सफल भएको विदुर–५ का लक्ष्मी मुनाकर्मीको भनाई छ । उहाँले प्रदर्शनीमा उहाँले फलफूल, तयारी चिप्स र सरसफाईको सामाग्रि विक्री गर्ने अवसर पाउनुभयो ।

तिज पर्व सुरु हुनुभन्दा धेरै अघिदेखि भड्किला र विकृति फैलाउने कार्यक्रम हुने गरेकोमा बाणिज्य संघले गरेको कार्यक्रमले महिला उद्यमी र उपभोक्ता दुवै पक्षलाई लाभ पुगेको संघका महासचिव उपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँको अनुसार जिल्लाका महिला किसानी तथा उद्यमीको सामाग्रि विक्री मार्फत उपभोक्ताले सहुलियत शुल्कमा स्थानीयस्तरमा नै उत्पादित दैनिक उपभोग्य सामाग्रि खरिद गर्न पाएका छन् । आगामी दिनमा पनि यस्तै रचनात्मक कार्यलाई निरन्तरता दिने उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button