तपाईँ सुन्दै हुनुहुन्छः

अवरुद्ध गल्छी–रसुवागढी अन्तर्राष्ट्रिय राजमार्ग आंशिक रुपमा सञ्चालन

नुवाकोट । सडकमाथिबाट खसेको ठूलो ढुङ्गासहितको पहिरोले अवरुद्ध भएको अन्तर्राष्ट्रिय राजमार्ग अन्तरगत ‘गल्छी–रसुवागढी सडक’ आंशिक रुपमा सञ्चालन भएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–८ स्थित ठूलोखोला नजिकै माथिबाट खसेको ठूला ढुङ्गासहितको पहिरोले सडक पूर्ण रुपमा बन्द भएकोमा आज अपराह्नदेखि एक लेन सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख जे.जंग कार्कीले जानकारी दिनुभयो ।

उहाँको अनुसार देवीघाटबाट महादेवफाँट हुँदै गल्छी आउजाउ गर्ने सडकमा बुधबार राती गएको पहिरोले पूर्ण रुपमा बन्द भएको थियो । पहिरोसँगै खसेको ठूलो ढुङ्गा हटाउन बाँकी भए पनि भित्ताबाट एक लेन खुला गरेर रोकिएका सवारी साधनहरू गन्तव्यतर्फ पठाइएको छ ।

गल्छी–रसुवागढी सडक योजनाको कार्यालयका प्रमुख धुव्रकुमार श्रेष्ठको अनुसार अहिले खुला भएको सडकमा सोही स्थानमा थप पहिरो नगए हाल एक लेनमा सञ्चालनमा आएको सडक नियमित रुपमा चलाउन सकिने र यातायातको आवागमन सुचारु हुने अपेक्षा गरिएको छ ।

पहिरोसँगै ठूलोढुङ्गा हटाउन ब्रेकर लगाउनुपर्ने भएकाले ‘डेडिकेटेड डबल लेन’को सडक पूर्ण रुपमा सुचारु गराउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button