तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्रमन्त्री डा राणालाई जनसम्पर्क समिति भारतको बधाई 

काठमाडौँ I हाल भारतको औपचारिक भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई नेपाली काँग्रेस जन सम्पर्क समिति, भारतले बधाई तथा शुभकामना व्यक्त गरेको छ । 

नेपाली काँग्रेस जनसम्पर्क समिति, भारतका पदाधिकारीहरूले आज बिहान परराष्ट्रमन्त्री एवं नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा राणालाई नयाँ दिल्लीमा भेटेर बधाई तथा सम्मान प्रदान गर्नुभएको हो ।

सो समितिका अध्यक्ष बालकृष्ण पाण्डे नेतृत्वको पदाधिकारीहरूको टोलीले जनसम्पर्क समिति भारतका क्रियाकलापहरूका बारेमा जानकारी गराउँदै मन्त्री डा राणाको कार्यकालमा नेपाल भारत सम्बन्ध थप सुदृढ हुने विश्वास पनि व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा मन्त्री डा राणाले नेपाली काँग्रेसको विचार र सिद्धान्तमा प्रतिबद्ध रहेर भारतमा रहेका नेपाली समुदायको हितमा काम गर्न र नेपाली काँग्रेसको सङ्गठनलाई प्रवासमा थप विस्तार गरी सशक्त बनाउन आग्रह गर्नुभयो ।

गत आइतबार नयाँ दिल्ली पुग्नुभएकी मन्त्री डा राणाले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुका साथै विदेशमन्त्री एस. जयशङ्करसँग द्विपक्षीय वार्ता गर्नुभएको थियो । भारतीय विदेशमन्त्री एस.जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुग्नुभएकी मन्त्री डा राणा आज अपराह्न स्वदेश फर्कँदै हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button