तपाईँ सुन्दै हुनुहुन्छः

बजेट अभावका कारण विमानस्थलको निर्माण कार्य अलपत्र

अर्घाखाँची । बजेट अभावका कारण अर्घाभगवती विमानस्थलको निर्माण कार्य अलपत्र परेको छ । 

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका–१०, शिखरबार्नीमा २०७३ असार १३ गते शिलान्यास भएको विमानस्थलको  बजेट अभावका कारण  निर्माण कार्य अलपत्र परेको हो । आठ वर्षमा धावनमार्ग सम्याउने (कटिङ) को काम मात्रै भएको छ । पार्किङ लगायतका संरचना निर्माण र ग्राभेल तथा पिच (कालोपत्रे) को काम बाँकी छ । ६० प्रतिशत काम सम्पन्न भए पनि हाल निर्माण कार्य बन्द रहेको छ । 

विमानस्थल निर्माणमा हालसम्म करिब २१ करोड रुपियाँ खर्च भएको छ । पहिलो टेन्डरमा पाँच करोड ५० लाख रुपियाँमा कटिङको काम भएको थियो । दोस्रो टेन्डरमा चार करोड, तेस्रोमा छ करोड ५० लाख र चौथो टेन्डरमा चार करोड ८० लाख रुपियाँको काम भएको छ । हाल आठ सय मिटर लम्बाइको धावनमार्ग तयार गरिएको छ । 

राष्ट्रिय वनको जग्गामा निर्माण भइरहेको विमानस्थल सम्पन्न गर्न करिब ३० करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । २०७३ सालमा तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले शिलान्यास गरे पनि २०७६ सालबाट विमानस्थल निर्माणको काम सुरु भएको थियो । वातावरणीय प्रभाव मूल्याङ्कन तथा विमानस्थलको प्रभावकारिताका विषयलाई लिएर मुद्दा परेको थियो । उक्त मुद्दा छिनोफानो भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । हाल बर्सातको समय भएको र पर्याप्त बजेट नभएकाले काम अघि नबढेको प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो ।

निर्माणाधीन विमानस्थलको धावनमार्ग सवारी सिक्ने,फोटो खिच्ने र टिकटक बनाउने स्थलको रुपमा बाहेक अन्य कुनै काममा प्रयोग भएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button