तपाईँ सुन्दै हुनुहुन्छः

थुनुवा भगाउने हवल्दार कारबाहीमा 

झापा । उपचारका लागि सँगै लिएर गएको थुनुवा भागेपछि इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी हवल्दार बमबहादुर राईमाथि कारबाही शुरु गरिएको छ ।

प्रहरी हवल्दार राईले उपचारका लागि बिर्तासिटी अस्पताल लिएर गएका थुनुवा विशाल राईको हतकडी फुस्काई मङ्गलवार दिउँसो फरार हुन सघाएका थिए । बुधबार दिनभरि इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलीले खोजतलास गर्दासमेत राई अझै भेटिएका छैनन् ।

पेट दुख्ने बिरामी भई बिर्तासिटी अस्पतालमा उपचारका क्रममा दमक नगरपालिका वडा न.३ भुटानी शरणार्थी सेक्टर जी थ्री भई हाल न.१ मा डेरा गरी बस्ने २५ वर्षीय विशाल राई हतकडी फुस्काई फरार भएका थिए ।

लागूऔषध मुद्दामा  पक्राउ परेका राईको सुरक्षामा प्रहरी हवल्दार बमबहादुर राई खटिएका थिए । प्रहरी हवल्दार राईलाई निलम्बन गरी कारबाही शुरु गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडमा डिएसपी प्रकाश विष्टले बताउनुभयो । उहाँले ती थुनुवा हतकडी फुस्काएर कसरी भागे भनेर अनुसन्धान भइरहेको जानकारी दिनुभयो । 

भदौ २ गते राति बिर्तामोड नगरपालिका वडा नम्बर १ पश्चिम बसस्टेन्डमा शङ्कास्पद अवस्थामा हिँडडुल गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले राईलाई चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकसहित १ ग्राम ४४ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button