तपाईँ सुन्दै हुनुहुन्छः

नगरपालिकाले तयार गर्‍यो स्थानीय पाठ्यपुस्तक 

भोजपुर  । स्थानीय पाठ्यपुस्तक तयार नहुँदा विद्यार्थी र शिक्षक अन्योलमा परिरहेको अवस्थामा भोजपुर नगरपालिकाले आफ्नो नगर भित्रका विद्यालयका लागि पुस्तक तयार गरेको छ ।

स्थानीय पाठ्यक्रम भित्र कुन विषय पठनपाठन गराउने अन्यौलमा रहेका शिक्षकलाई अब भने सहज हुने भएको छ । पुस्तक निर्माणका लागि जिम्मेवारी पाएको शिक्षकहरूको टिमले छ महिना लगाएर ‘कक्षा एक देखि पाँचसम्मको लागि ‘हाम्रो भोजपुर नगरपालिका स्थानीय पाठ्यपुस्तक’ तयार गरेको हो । तयार पारिएको पुस्तक अध्ययनका लागि नगर प्रमुखलाई बुझाइएको शिक्षकहरूले बताएका छन् । 

भोजपुर नगरपालिकाले पुस्तक तयारीका लागि शिक्षकहरू लालकुमार तामाङ, विष्णुकुमार राई, दुर्गाप्रसाद बराल, लक्ष्मण जोशी, रक्तम राई रहेको टिम बनाएको थियो । टिमका सदस्य शिक्षक रक्तम राईले पुस्तक तयारी भए पछि अव नगर क्षेत्रका विद्यालयहरूका लागि सहजता भएको बताए । उनले भने, “कक्षा १ देखि ५ सम्म लेखन तथा सम्पादन गरिएको एक प्रति पुस्तक पालिकामा बुझाउन सफल भएका छौँ ।” यो पाठ्यपुस्तक लेखन जस्तो प्राज्ञिक, प्राविधिक र गहन तथा चुनौतीपूर्ण कार्य पुरा भएको छ, शिक्षक राईले भन्नुभयो । 

नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले प्रदान गरेको अधिकार प्रयोग गरी पालिकाहरूले  विद्यालयमा स्थानीय पाठ्यक्रम लागु गरेपछि पाठ्यपुस्तक निर्माण नहुँदा समस्या हुँदै आएको थियो । नगरपालिकाले समयमा पाठ्यपुस्तक तयार नगर्दा आफूहरूलाई विद्यार्थीलाई पढाउन समस्या हुने गरेको गुनासो शिक्षकहरूले गर्दे आई रहेका थिए । 

भोजपुर नगरपालिकाका नगर प्रमुख तथा नगर शिक्षा समितिका संयोजक कैलाश कुमार आलेले शिक्षकहरूको टिमले स्थानीय पाठ्यक्रम निर्माण गरेको र सो अध्ययन गरेर अन्तिमरुप दिइने बताउनुभयो । “पाठ्यपुस्तक तयार भएको र अब स्थानीय विषय पढाउन सहज हुन्छ, पुस्तकमा सबै क्षेत्रलाई समेट्ने खालका विषय बस्तु समावेश छन् ।” उहाँले बताउनुभयो ।

स्थानीय पाठ्यक्रममा भोजपुरको पहिचान, कला, संस्कृति र सम्पदा, इतिहास, लगायतका विषयहरूलाई समावेश गरिएको बताइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button